सङ्गीत । रोजगारीको खोजीमा मातृभूमि छाड्न बाध्य लाखौँ नेपाली युवा र उनीहरूले पछाडि छाडेर जाने परिवारको कथा बोकेको गायक हेमन्त रानाको नयाँ गीत ‘सुन कुरा’ सार्वजनिक भएको छ ।
गायक रानाकै शब्द, संगीत र स्वरमा तयार भएको यो गीत विदेशिन बाध्य युवाहरूप्रति समर्पित गरिएको छ । वैदेशिक रोजगारीका कारण गाउँहरू क्रमशः रित्तिँदै जाँदा वृद्ध आमाबुबा एक्लो जीवन बिताउन बाध्य भइरहेको अवस्था, बसाइँसराइले निम्त्याएको भावनात्मक तथा सामाजिक असर र बढ्दो वातावरणीय संकटलाई गीतले संवेदनशील ढंगले उठाएको छ ।
आफ्नो नयाँ सिर्जनाबारे गायक राना भन्छन्, ‘गीतसंगीत, कविता, कथा, फिल्म लगायत समग्र कलाले कुनै न कुनै रूपमा समाजको प्रतिनिधित्व गरेको हुन्छ। कलामा कहीँ न कहीँ समाज बोलेको हुन्छ। आजभोलि गाउँघरमा वृद्धवृद्धा, महिला र बालबालिका बाहेक तन्नेरी पुस्ता खासै देखिँदैन। कुनै-कुनै जिल्लाका गाउँहरू त लगभग रित्तिँदै गएका छन्। यही सामाजिक यथार्थको एउटा सानो कथा बोकेर म यो गीतमार्फत आएको छु।’
यसअघि अत्यधिक चर्चित बनेको गीत ‘सुन साइँली’ मार्फत वैदेशिक रोजगारीको भावनात्मक पीडा पस्किएका हेमन्तले ‘सुन कुरा’ मा त्यसैको अर्को पाटो उजागर गरेका छन्। युवाहरू विदेशिएपछि खाली हुँदै गएका गाउँ, एक्लिँदै गएका अभिभावक, बदलिँदो सामाजिक संरचना र त्यससँगै प्रकृतिमा परेको असरलाई गीतमा उतारिएको छ।
कोबिद बज्रको म्युजिक प्रोडक्सन, मिक्सिङ र मास्टरिङ रहेको यस गीतमा बिकेश बज्रको स्ट्रिङ एरेन्जमेन्ट तथा ड्रम्स, निशाद श्रेष्ठको चेलो र रोमन बुढाथोकीको भायोलिन सुन्न सकिन्छ।
त्यस्तै, निर्देशक हेमराज बीसीको निर्देशनमा बनेको भिडियोमा अभिनेता विजय बराल, रक्षा थापा र मणि के. राईको सशक्त अभिनय रहेको छ। शैलेन्द्र डी. कार्कीको छायांकन रहेको यस फिल्म शैलीको भिडियोलाई निमेश श्रेष्ठले सम्पादन गरेका हुन्।










