फिल्म । अभिनेत्री दीया मास्केले आफूलाई हरर फिल्मसँग डर नलाग्ने बताएकी छिन् । आगामी माघ २५ गतेबाट प्रदर्शनमा आउने हरर फ्यामिली ड्रामा फिल्म ‘मम्मी’ द्वारा आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री मास्केले हरर फिल्ममा साउण्डसँग डर लाग्ने बताइन ।
उनले भनिन्,‘हरर फिल्मको साउण्ड गतिलो छैन भने त्यो फिल्म बेकार हुन्छ । त्यसैले यसको प्राविधिक पक्षलाई बलियो बनाउन निकै जरुरी छ । मम्मीको विधा हरर भएता पनि यो सामाजिक विषय भएको फिल्म हो ।’
उनले हरर प्रस्तुतीकरण भएता पनि बारम्बार तर्साउने किसिमको नरहेको बताएकी छिन् । कालो विरालोलाई फिल्म र ट्रेलरमा चित्रण गरिएता पनि त्यस्तो नहुने उनको बुझाइ छ । उनी जनावरको कारणले शुभ र अशुभ नहुने बताउछिन् । फिल्ममा अभिनेत्री मास्केसँगै प्रियंका कार्की, समीप निरौला, घनश्याम जोशी, आयुषी ढकाल, जेभिस श्रेष्ठ, गुराँस ढकाल, गीत विष्टलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
सो ट्वान्टी फाइभको प्रस्तुतिमा निर्माण भएको फिल्ममा समर निरौला र पूर्णिमा जोशीको लेखन तथा समर निरौलाको निर्देशन रहेको छ । समर डेब्यू निर्देशक हुन् । फिल्मको निर्माता लोक राज जोशी तथा पूर्णिमा जोशी हुन भने कार्यकारी निर्मातामा सुमन कोइराला रहेका छन् ।
यसको छायांकन निशाल पौडेल र शरद महतोले संयूक्त रुपमा गरेका हुन् भने सम्पादन सुरेन महर्जनको रहेको छ । यसैगरी पाश्र्व ध्वनीमा रोहित शाक्य, साउन्ड डिजाईनमा श्रवल आरपि, सम्पादनमा सुरेन्द्र महर्जन, एनवी महर्जनको द्धन्द्व निर्देशन, रंग संमयोजनमा दिपेश चौधरी तथा संगीतकारमा एसडी योगी रहेका छन् ।