‘ल्याङ्ग ल्याङ्ग’ मा जीवन

फिल्म । नेपाली फिल्म ‘ल्याङ्ग ल्याङ्ग’ को मुख्य भूमिकामा कलाकार जीवन जंग बस्न्यात अनुबन्धित भएका छन् । निर्देशक बलिराम चौहान र बस्न्यातबीच हालै औपचारिक सम्झौता भएको हो । बस्न्यात यसै फिल्ममार्फत पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन्। उनले ‘ल्याङ्ग ल्याङ्ग’लाई आफ्नो अभिनय करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएको बताएका छन्।

यसअघि उनले फिल्म ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए। सीमित उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान खिच्न सफल भएको थियो। उनी हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’ पात्रका रूपमा पनि देखिएका थिए।

सुनसरीको कालाबञ्जर निवासी बस्न्यात लामो समयदेखि रंगमञ्च, सर्ट फिल्म, म्युजिक भिडियो र टेलिभिजनमार्फत अभिनयमा सक्रिय छन्। १२ वर्षको उमेरमा ‘कलालय इटहरी’बाट रंगमञ्च यात्रा सुरु गरेका उनले हालसम्म दर्जनौँ नाटक, २०० भन्दा बढी सर्ट फिल्म, दर्जनौँ म्युजिक भिडियो तथा टेलिभिजन विज्ञापनमा अभिनय गरिसकेका छन्। सामाजिक सञ्जालमा अभिनयप्रधान भिडियोमार्फत पनि उनी दर्शकमाझ परिचित छन्।

बस्न्यातको अभिनय यात्रा भने संघर्षपूर्ण रह्यो। आर्थिक अभावका कारण एक समय कोठाभाडा तिर्नसमेत कठिन भएको उनले भोगेका थिए। यही क्रममा उनले अभिनेता अनमोल केसी अभिनीत फिल्म ‘फर्की फर्की’ र ‘सानो संसार’, साथै गायक सुजन चापागाईंको चर्चित गीत ‘फुलथुङ्गे रानी’ मा ब्याकग्राउन्ड कलाकार (एक्स्ट्रा) का रूपमा काम गरेका थिए। अध्ययनसँगै रातिको समयमा पठाओ फुड डेलिभरी गर्दै उनले अभिनय यात्रालाई निरन्तरता दिएका थिए।

उनले ओस्कार अन्तर्राष्ट्रिय कलेजबाट फिल्म अध्ययन (अभिनय) मा स्नातक पूरा गरेका छन् भने हाल फिल्म स्टडीजमै स्नातकोत्तर अध्ययनको तयारीमा छन्।

स्काई फल पिक्चर्सको ब्यानरमा निर्माण हुने फिल्ममा भोलानाथ कटवालको लगानी रहनेछ। यसअघि रिहान गिरी र सन्तोष बानियाँ कलाकारका रूपमा अनुबन्धित भइसकेका छन्। मुख्य अभिनेत्रीको छनोट प्रक्रिया जारी रहेको निर्देशक बलिराम चौहानले जानकारी दिएका छन्। फिल्मको कथा बलिराम चौहान र उपाश्री खतिवडाले संयुक्त रूपमा तयार गरेका हुन्।

कमेन्ट गर्नुहोस्