सङ्गीत । अमेरिकाको न्युजर्सीस्थित जर्सी सिटी काउन्सिलले नेपाली पार्श्वगायक, संगीतकार तथा कलाकार युवराज चौलागाईंलाई नेपाली संगीत, संस्कृति तथा प्रवासी नेपाली समुदायमा पुर्याएको योगदानको कदर गर्दै औपचारिक सम्मान प्रदान गरेको छ।
सन् २०२६ जुलाईमा जारी गरिएको सम्मानपत्रमा चौलागाईंलाई नेपाली संगीतको समकालीन यात्राका प्रभावशाली र प्रेरणादायी व्यक्तित्वका रूपमा उल्लेख गरिएको छ । मंगलबार जर्सी सिटी हलमा आयोजित समारोहमा जर्सी सिटीका मेयरद्वारा नियुक्त ‘विविधता तथा समावेशीकरण सल्लाहकार’ एवं न्युजर्सीका गभर्नरको ‘एसियन अमेरिकन प्यासिफिक आइल्यान्डर कमिसन’की कमिस्नर डा. विष्णुमाया परियारले सम्मानपत्र हस्तान्तरण गरेकी हुन्।
काउन्सिलम्यान–एट–लार्ज रोलान्डो लभारोद्वारा हस्ताक्षरित सम्मानपत्रमा चौलागाईंले दुई दशकभन्दा लामो समयदेखि नेपाली संगीत क्षेत्रमा पुर्याएको योगदानको विशेष प्रशंसा गरिएको छ। सम्मानपत्रमा उनले नेपाली फिल्म र समकालीन संगीतमा ४०० भन्दा बढी गीत रेकर्ड गराएको उल्लेख गर्दै यस उपलब्धिले उनलाई नेपाली संगीत क्षेत्रका स्थापित र सम्मानित कलाकारका रूपमा स्थापित गरेको जनाइएको छ।
सम्मानपत्रमा चौलागाईंको योगदानलाई गीत गायन वा संगीत सिर्जनामा मात्र सीमित नराखी नेपाली सांगीतिक पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा स्थापित गर्ने, नयाँ पुस्ताका कलाकारलाई प्रेरणा र मार्गदर्शन गर्ने तथा नेपाली संगीत सम्पदाको संरक्षणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने सांस्कृतिक व्यक्तित्वका रूपमा चित्रण गरिएको छ। साथै, नेपाल र विश्वभर रहेका नेपाली समुदायबीच सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन उनले उल्लेखनीय भूमिका खेलेको पनि उल्लेख गरिएको छ।
यो सम्मान न्युयोर्कबाट प्रकाशित हुने स्थानीय सञ्चारमाध्यम ‘नेपयोर्क’को चौथो वार्षिकोत्सवका अवसरमा प्रदान गरिएको हो। सम्मानपत्रमा चौलागाईंको असाधारण कलात्मकता, सांस्कृतिक गर्व र प्रभावशाली मञ्च प्रस्तुतीले उनलाई नेपाली समुदायसँगै प्रवासी नेपाली युवापुस्तामाझ पनि प्रेरणाको स्रोत बनाएको उल्लेख छ।
दुई दशकभन्दा लामो समयदेखि नेपाली सुगम संगीत र फिल्म पार्श्वगायनमा सक्रिय चौलागाईं नेपाली संगीत क्षेत्रका स्थापित, बहुमुखी र सम्मानित कलाकार हुन्। उनले ‘यू फिल’ एल्बमबाट ‘साँझपख जब’, दोस्रो एल्बम ‘यश’बाट ‘लैजा चरी’, ‘शब्द’ एल्बमबाट ‘हरेक शब्दको अर्थ हुन्छ’ तथा क्लासिक रिमेक ‘टुङ्नाको धुनमा’मार्फत सशक्त सांगीतिक यात्रा सुरु गरेका थिए।
त्यसयता उनले नेपाली फिल्म तथा आधुनिक संगीतमा थुप्रै लोकप्रिय गीत दिएका छन्। ‘नोभेम्बर रेन’को ‘पलभरमै खुशी’, ‘क्लासिक’को ‘हारे हारे’, ‘पलाँस’को ‘तिमी साथमा हुँदा नि’, ‘कान्छी’को ‘यो मन रमाउँदै’, ‘हवल्दार सुन्तली’को ‘तिम्रा डोला डोला हातमा’, ‘छ एकान छ’को शीर्ष गीत, ‘तिम्रो माया पाउनलाई’, ‘झम झम लाग्यो’, ‘छुटेपछि त छुट्यो’, ‘पल पल चोट’, ‘मैलेभन्दा माया गर्ने’ र ‘सिरफुले माया’ लगायतका गीतले उनलाई नेपाली संगीत उद्योगमा विशेष पहिचान दिलाएका छन्।
चौलागाईं रेकर्डिङ स्टुडियोमा मात्र सीमित नभई नेपाल तथा विदेशका विभिन्न मञ्चमा पनि उत्तिकै लोकप्रिय छन्। गायनसँगै संगीत सिर्जना र नयाँ प्रतिभालाई मार्गदर्शन गर्न सक्रिय रहेका उनले एनएफडिसी राष्ट्रिय फिल्म अवार्ड, नेफ्टा अवार्ड, फ्यान अवार्ड, इनास अवार्ड, कालिका अवार्ड, विन्ध्यवासिनी अवार्ड, म्युजिक खबर म्युजिक अवार्ड, सगरमाथा म्युजिक अवार्डलगायत दर्जनौँ राष्ट्रिय सम्मान तथा अवार्ड प्राप्त गरिसकेका छन्।









