‘काजी’ केवल प्रेमकथा होइन, विश्वास र समर्पणको संसार हो : केकी

फिल्म । नेपालीमा आफ्नो फरक पहिचान बनाएकी अभिनेत्री केकी अधिकारी अहिले नयाँ फिल्म ‘काजी’ मार्फत दर्शकमाझ आउँदैछिन् । सामाजिक भावना, प्रेम र सम्बन्धको गहिराइ बोकेको यस फिल्मलाई लिएर उनी निकै उत्साहित देखिएकी छन् । फिल्म ‘काजी’ र ‘काजिनी’को प्रेमकथामा आधारित रहेको छ। केकीले ‘काजी’लाई केवल प्रेमकथा नभई विश्वास, त्याग र सम्बन्धको भावनात्मक संसारका रूपमा व्याख्या गरिन् । उनका अनुसार अहिले प्रेमलाई हेर्ने दृष्टिकोण बदलिँदै गए पनि ‘काजी’को संसारमा भने माया र विश्वासले नै सम्बन्ध टिकाइराख्ने आधार बनेको छ ।

उनले भनिन्, ‘हामी वास्तविक जीवनमा पनि परिवार होस् वा आफूले प्रेम गरेको व्यक्ति, कहिलेकाहीँ म मात्रै बढी दिइरहेको छु भन्ने महसुस गर्छौं । मानव मनोविज्ञान नै त्यस्तो हुन्छ । तर ‘काजी’को संसारमा भने त्यो सोचभन्दा बिल्कुल फरक भावनात्मक गहिराइ भेटिन्छ ।’

केकीका अनुसार फिल्मकी पात्र ‘काजिनी’लाई ‘काजी’ले जति प्रेम गर्छ, त्यति प्रेम आफूले सात जुनीसम्म पनि फर्काउन नसक्ने अनुभूति हुन्छ। फिल्मको कथालाई स्पष्ट पार्ने क्रममा उनले रामायणको प्रसंगसमेत जोडिन् ।

उनले भनिन्, ‘राम र सीताको कथामा पनि सीताले रामका लागि धेरै त्याग गरेकी थिइन्। वनवास गइन्, अग्निपरीक्षा दिइन्। तर ‘काजी’को संसारमा काजिनीले काजीलाई त्यो स्तरभन्दा पनि माथि राखेर हेर्न सक्छिन्। फिल्ममा काजिनीले अनुभव गर्ने समर्पण, त्याग र प्रेमले प्रेमले नै संसार थामेको छ भन्ने अनुभूति गराउँछ।’

काजिनीको पात्रबारे बोल्दै केकीले अर्को रोचक पक्ष पनि खुलाइन्। उनका अनुसार काजिनीलाई ‘काजी’जस्तो श्रीमान् पाउनु कुनै संयोग नभई अघिल्ला जन्महरूको पुण्यको फलजस्तो लाग्छ। उनले भनिन्, ‘काजिनीले छ जुनीसम्म गरेको पुण्यको फल सातौं जन्ममा काजीलाई पाउनु हो भन्ने भाव फिल्ममा छ।’

उनका अनुसार काजिनीका लागि संसारमा सबैभन्दा ठूलो कुरा सम्बन्ध हो । काजीले आफूलाई जुन दृष्टिकोणबाट हेर्छ, त्यो प्रेम र विश्वास जोगाइराख्न उनी जे गर्न पनि तयार हुन्छिन्। ‘काजिनीका लागि माया, विश्वास र सम्बन्ध नै सबैभन्दा ठूलो कुरा हो। संसारका अरू सबै कुरा साना लाग्छन्’, उनले भनिन्।

काजीको प्रेम र विश्वासकै कारण आफू चरित्रमा वास्तविक ‘काजिनी’जस्तै भएर बाँच्न सकेको अनुभव पनि उनले सुनाइन्। ‘काजिनीको सबैभन्दा ठूलो आत्मविश्वास नै काजीको उसप्रतिको प्रेम र विश्वास हो। त्यो कुराले मानिसलाई कति धनी र आत्मविश्वासी बनाउँछ भन्ने कुरा फिल्ममार्फत देखाइएको छ’, केकीले बताइन्।

फिल्मको कथावस्तुले आफूलाई सुरुदेखि नै भावनात्मक रूपमा जोडेको पनि उनले उल्लेख गरिन्। ‘फिल्ममा काजिनी पात्र सामान्य छैन। यसभित्र धेरै पीडा, माया र जिम्मेवारी छ’, उनले भनिन्।

अभिनेता विपिन कार्की सँगको सहकार्यलाई उनले सहज र स्मरणीय अनुभवका रूपमा लिएकी छन्। विपिनसँगको भावनात्मक केमेस्ट्री र पारिवारिक कथावस्तुमा आधारित फिल्मले दर्शकलाई आकर्षित गर्ने उनको विश्वास छ। करिब डेढ दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय केकीले सधैं फरक र सशक्त पात्र रोज्दै आएकी छन्। पछिल्लो समय बोक्सीको घर जस्तो महिला केन्द्रित फिल्ममार्फत चर्चा कमाएकी उनले राम्रो कथा र समाजसँग जोडिएका विषयलाई प्राथमिकता दिने बताउँदै आएकी छन्।

केकीको अभिनय यात्रालाई नजिकबाट नियाल्नेहरूका लागि ‘काजी’ उनको परिपक्व अभिनयको अर्को अध्याय बन्न सक्ने अपेक्षा गरिएको छ। फिल्मको प्रचार सामग्रीमा केकी र विपिनको जोडीलाई दर्शकले रुचाएका छन्। सार्वजनिक ट्रेलर र गीतमा देखिएको उनीहरूको प्रस्तुतिले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ।

ग्रामीण परिवेशमा आधारित यो फिल्म आगामी जेठ ८ गतेदेखि देशभर प्रदर्शन हुँदैछ। निर्माण टिमका अनुसार फिल्मले भावनात्मक कथा र सम्बन्धको संवेदनशील पक्षलाई पर्दामा उतारेको छ । फिल्मका निर्देशक लक्ष्मण रिजाल हुन् । फिल्ममा विपिनसँगै केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट र हिउँवाला गौतमलगायत कलाकारहरूको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्म्सले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

कमेन्ट गर्नुहोस्