गृह जिल्ला दाङमा ‘महापुरूष’ हिरो अरुणलाई स्वागत र सम्मान

फिल्म । अरुण क्षेत्री नाम अहिले परिचित बनिसकेका छन् । फिल्म ‘महापुरूष’ विज्ञानको भूमिका निर्वाह गरेका नव नायक क्षेत्रीले गरेको अभिनयको चर्चा फिल्म हेरिसकेका दर्शकसँगै मिडियाकर्मीले समेत गरिरहेका छन् । अग्लो कद, गुड लुकीङ, राम्रो नृत्यसँगै अभिनयमा आफूलाई पोख्त बनाएका अभिनेता क्षेत्रीलाई गृह जिल्ला दाङमा भव्य स्वागत गरिएको छ । नव नायक क्षेत्री निर्देशक प्रदीप भट्टराई, कार्यकारी निर्मातासँगै कलाकार समेत रहेका रवीन्द्र सिंह बानियाँ, कलाकार राजाराम पौडेल, नव नायिका अञ्जना बराईली, पव्लिसिटी डिजाइनर रोयल भीमसेनसँगै मोफसलमा छन् । ‘महापुरूष’ टिम केही दिन देखि मोफसलका दर्शक भेटघाट गर्दै प्रतिक्रिया लिईरहेको छ ।

यही क्रममा दाङ पुगेका नव नायक क्षेत्रीलाई घोराही उपमहानगरपालिकाकी उपमेयर हुमा कुमारी डिसी, नेपाल पत्रकार महासंघ दाङ अध्यक्ष दुर्गालाल केसी लगायत दाङबासीले स्वागत गरेका हुन् । कलाकार कमल गाउँलेको संयोजकत्वमा उपस्थितले नव नायक क्षेत्रीसहित महापुरूष टिमलाई फूलमाला र खादासहित ढाकाटोपी लगाउदै स्वागत गरेका थिएँ । आफ्नै गाउँमा स्वागत पाउँदा नव नायक क्षेत्रीले खुसी व्यक्त गरे । ‘आफ्नो ठाउँमा पाएको माया र आशिर्वादले झनै हौसला थपेको छ । उहाँको सम्मानलाई बढाउने प्रयास मेरो रहनेछ’, नव नायक क्षेत्रीले भने । उनी उपमहानगरपालिका अन्तर्गत वडा नम्बर १६ का वासिन्दा हुन् ।

उनलाई फिल्मक्षेत्रमा सम्भावना बोकेको कलाकारको रुपमा हेरिएको छ । मोफसलमा फिल्म हेरेर निस्किएका दर्शकले सकारात्मक प्रतिक्रिया दिईरहेका छन् । महापुरूष टिम शुक्रबार चितवनका दर्शकहरूसँग साक्षात्कार गर्दै प्रतिक्रिया लिने तयारीमा छन् । फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल, रवीन्द्र सिंह बानियाँ, शिरू विष्टसँगै नवप्रस्तुतिमा अरुण क्षेत्री र अञ्जना बराईली मुख्य भूमिकामा रहेका छन् । फिल्ममा एक्लोपनको कथा देखाइएको छ । आदर्शनगरमा बसोबस गर्ने अवकासप्राप्त शिक्षक मार्फत पिता र एलकपुरुषसँगै एक्लोपनकथा फिल्ममा देखाइएको छ । भविष्य निर्माण गर्न अलग भइसकेको छोरा, सपना बोकेर अष्ट्रेलिया जान लागेको छोरा र एक्लोपनमा रहेका शिक्षकमार्फत समाजको गम्भीर विषयलाई सरल रुपमा प्रस्तुत गरिएको छ । षट्कोण आर्ट्स प्रा.लि.को व्यानारमा निर्मित फिल्ममा कार्यकारी निर्माता रबिन्द्र सिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री रहेका छन् ।

षट्कोण आर्ट्सले यसअघि टलकजङ भर्सेस टुल्के, जात्रा र जात्रै जात्रा फिल्म निर्माण गरेको छ । फिल्ममा दीपक बज्राचार्यको छायांकन , मित्र डी. गुरुङको सम्पादन रहेको छ। यही फिल्मबाट कवि नवराज पराजुलीले पनि गीतकारको रुपमा फिल्ममा डेब्यु गर्दै छन् । फिल्मको पार्श्व ध्वनिमा रोहित शाक्य / शैलेश श्रेष्ठ , ध्वनि संयोजनमा अमित श्रेष्ठ , रंग संयोजनमा कपिल पराजुली र प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेका छन्।

कमेन्ट गर्नुहोस्