फिल्म । ‘स्पाइडरम्यान’ सिरिज मार्फत परिचित बनेका अभिनेता टम होल्याण्डले सोमबार सामाजिक सञ्जाल मार्फत मानसिक स्वास्थ्यलाई ख्यालमा राख्दै सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेका छन् । सोमबार इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा उनले भनेका छन्, ‘मलाई ट्वीटर र इन्स्टाग्राम अति उत्तेजक महसुस भएको छ । ममाथि यी प्लेटफर्म भारी भएका छन्’ उनले आफ्नो बारेमा लेखिएका कुरा सामाजिक सञ्जालमा अध्यन गर्दा त्यसले निराशा बढाएको बताएका छन् । ‘मलाई लाग्यो, मेरो मानसिक स्वास्थ्यको लागि पनि यो हानिकारक कुरा हो’ उनले भनेका छन् ।
भिडियोको अन्त्यमा उनले आफ्ना आमाबुबाद्वारा स्थापित सामाजिक संस्था स्टेम फोर र ब्रदर्स ट्रस्टबारे पनि उल्लेख गरेका छन्, जुन संस्थाले मानसिक स्वास्थ्यबारे काम गर्छन् । यी संस्थालाई सघाउन आफू तयार रहेको समेत उनले बताएका छन् ।
‘स्पाइडरम्यान’ अभिनेतालाई इन्स्टाग्राममा ६७.७ मिलियन र ट्वीटरमा ७.४ मिलियनले पछ्याएका छन् । पछिल्लो समय उनले यी प्लेटफर्र्म प्रयोग गरेका छैनन् । उनले इन्स्टाग्राममा अन्तिम फोटो ६ साताअघि पोस्ट गरेका थिए भने गत फेब्रुअरी २०२२ मा ट्वीट गरेका थिए ।