‘कस्तुरी’ को अधिकांश छायांकन सम्पन्न

फिल्म । अभिनेता निखिल उप्रेती र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको फिल्म कस्तुरीको अधिकांश छायांकन सम्पन्न भएको छ । निर्देशक ऋत बोहोराका अनुसार ३५ दिनभित्र फिल्मको करिब सम्पूर्ण छायांकन सकिएको हो । केही गाउँका दृश्य र गीत छायांकन मात्र बाँकी रहेको उनले जानकारी दिए ।

‘हामीले ३५ दिनमै अधिकांश छायांकन सक्यौं। अब केही दृश्य र गीत खिच्न बाँकी छ, बाँकी काम पूरा गरिसकेका छौं’, उनले भने । काठमाडौं आसपासका क्षेत्रमा छायांकन गरिएको यस फिल्ममा रहस्य, सस्पेन्स र अपराधका विषयलाई प्रस्तुत गरिने बताइएको छ । फिल्ममार्फत निखिल उप्रेती र वर्षा सिवाकोटी पहिलो पटक एउटै पर्दामा देखिन लागेका हुन् ।

फिल्ममा शेखर चापागाईं, निर्मल शर्मा, नीशा अधिकारी, अर्जुन गुरुङ, भोलाराज सापकोटा, सबी थापा, प्रशान्त केसी, सन्तोष बानियाँ, सुवास बञ्जन, मिरा पण्डित, घनश्याम जोशी, श्रेया श्रेष्ठ, प्रतिष्ठा थापा र नेहा गौतम लगायतका कलाकारको अभिनय रहनेछ। साथै गौरव पहारी र हेना नगरकोटी विशेष भूमिकामा देखिनेछन्।

टेन इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको यस फिल्मको कथा तथा निर्देशन स्वयं ऋत बोहोराले गरेका हुन् । फिल्मका निर्माता धिरज कुमार अग्रवाल र सह निर्माता अञ्जली चौधरी हुन्। आलोक शुक्ला छायाकार रहेको फिल्ममा प्रमुख सहायक निर्देशकको जिम्मेवारी ललित विष्टले सम्हालेका छन् ।

फिल्मको संगीत प्रशान्त शिवाकोटीको रहेको छ भने निर्माण व्यवस्थापन दिलीप पन्तले गरेका छन् । निर्माण टिमले प्रदर्शन मिति भने अझै घोषणा गरेको छैन। निर्देशक बोहोराका अनुसार फिल्मको प्रदर्शन मिति केही दिनमै सार्वजनिक गरिनेछ ।

कमेन्ट गर्नुहोस्