देश । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) नेपालले सार्वजनिक गरेको निर्वाचनमा बालअधिकार अनुगमन प्रतिवेदनले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का क्रममा बालबालिकाको प्रयोग व्यापक रूपमा भएको देखाएको छ ।
सिजप नेपालका अध्यक्ष तिलोत्तम पौडेलले प्रस्तुत गर्नु भएको प्रतिवेदनअनुसार निर्वाचनपूर्व २८६ वटा र निर्वाचनपछिको अवधिमा १९ वटा बालअधिकार उल्लङ्घनका घटना अभिलेख भएका छन्। मतदानका दिन प्रत्यक्ष उल्लङ्घनका घटना कम देखिए पनि विद्यालय भवन तथा स्रोतको व्यापक प्रयोग भएको उल्लेख गरिएको छ। अध्ययनले राजनीतिक दलहरूले बालबालिकालाई झण्डा बोक्ने, जुलुसमा सहभागी गराउने, नाराबाजी गराउने, प्रचार सामग्री वितरण गर्ने तथा सामाजिक सञ्जालमार्फत प्रचारमा प्रयोग गरेको देखाएको छ।
टिकटक, फेसबुक र युट्युब जस्ता प्लेटफर्ममार्फत बालबालिकालाई प्रयोग गरी राजनीतिक सामग्री प्रसारण गरिएको पनि प्रतिवेदनमा उल्लेख छ। विद्यालय पोशाकमै विद्यार्थीलाई जुलुसमा सहभागी गराउने, विद्यालय परिसरमा राजनीतिक कार्यक्रम सञ्चालन गर्ने तथा निर्वाचन प्रयोजनका लागि विद्यालय बस प्रयोग गर्ने जस्ता गतिविधि देखिएका छन्। निर्वाचनपछिको अवधिमा विजय जुलुस र उत्सवमा समेत बालबालिकाको प्रयोग भएको पाइएको छ, जसले उनीहरूलाई राजनीतिक रूपमा संवेदनशील वातावरणमा संलग्न गराएको प्रतिवेदनले जनाएको छ।
प्रतिवेदनले बालमैत्री निर्वाचन सुनिश्चित गर्न राजनीतिक दल, निर्वाचन आयोग, सरकार, सुरक्षा निकाय, नागरिक समाज, विद्यालय र अभिभावक सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै बालबालिकाको प्रयोग रोक्न कडा अनुगमन र जनचेतना अभिवृद्धि गर्न सिफारिस गरेको छ।
कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय बालअधिकार परिषद्, नागरिक संघसंस्थाका सञ्जाल, बालअधिकार तथा मानवअधिकारका क्षेत्रमा कार्यरत संघसंस्था, सामुदायिक रेडियो प्रसारक संघ नेपालका प्रतिनिधि लगायत सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।
निर्वाचनमा बाल अधिकार अनुगमनका लागि सिजपका सदस्य संस्थाहरूमार्फत सकेसम्म धेरै जानकारीहरू संकलन गरेको र तिनै जानकारीहरूलाइ विश्लेषण गरिएको सिजपका महासचिव राजु घिमिरेले बताउनु भयो ।










