‘परालको आगो’को टिजर सार्वजनिक

फिल्म । नेपाली फिल्म ‘परालको आगो’ को टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा ग्रामीण परिवेशमा आधारित श्रीमान श्रीमतीबीचको मनमुटाव र झगडाको दृश्य प्रस्तुत गरिएको छ । टिजरमा अभिनेता प्रकाश सपुत र अभिनेत्री सुहाना थापा श्रीमान श्रीमतीको भूमिकामा देखिएका छन् ।

पानी लिन पधेँरो गएकी श्रीमती अबेला घर फर्किएपछि श्रीमानले कुटपिट गर्ने दृश्य टिजरमा देखाइएको छ । झगडा छुट्याउन पुगेका छिमेकी पात्रसमक्ष ‘अर्काको लोग्नेस्वास्नीको झगडामा नपरेकै राम्रो’ भन्ने संवाद प्रकाश सपुतले बोलेका छन् । टिजरमा ग्रामीण जीवन, परम्परागत शैली र नेपाली समाजमा देखिने यथार्थ घटनालाई चित्रण गरिएको छ। टिजरमा सौगात मल्ल समेत देखिएका छन्।

गुरु प्रसाद मैनाली को प्रसिद्ध कृति ‘परालको आगो’बाट प्रेरित यस फिल्ममा सुहाना थापा, सौगात मल्ल, प्रकाश सपुत, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने र बाल कलाकार मन्जिला बानियाँको अभिनय रहेको छ। फिल्मलाई लक्ष्मण सुनार ले निर्देशन गरेका हुन् । फिल्मका निर्माता सुशील पोखरेल हुन् भने कथा तथा पटकथा सुशील देवकोटाले लेखेका छन्।

उक्त कथामा आधारित फिल्म यसअघि करिब ४५ वर्षअघि प्रताप सुब्बाले निर्देशन गरेका थिए। नयाँ संस्करणको ‘परालको आगो’ आगामी वैशाख ११ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

कमेन्ट गर्नुहोस्