सर्लाही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता दीपक महतोले सर्लाही क्षेत्र नं. ४ मा नेपाली काङ्ग्रेसका सभापति तथा उम्मेदवार गगन थापालाई मतदान गर्न अपिल गरेका छन् ।
सामाजिक सञ्जालमा सभापति थापासँगको तस्बिर साँझा गर्दै नेता महतोले आगामी प्रतिनिधिसभा निर्वाचनमा थापालाई अत्यधिक मतले विजयी गराउन आग्रह गरेका हुन् । उनले सभापति थापासँग देशको वर्तमान राजनीतिक संकट समाधान गर्ने स्पष्ट दृष्टिकोण रहेको, सुशासन, पारदर्शिता र जवाफदेहिता कार्यान्वयन गर्न सक्ने नेतृत्व क्षमता भएको उल्लेख गरेका छन् ।
नेता महतोले सभापति थापालाई सामाजिक, सांस्कृतिक तथा आर्थिक रूपान्तरणका लागि स्पष्ट खाका प्रस्तुत गर्न सक्ने नेता भन्दै कानुन तथा नीति निर्माणमा अनुभवी र दक्ष रहेको बताएका छन् ।
‘तीव्र आर्थिक विकास, पूर्वाधार निर्माण र समृद्धिलाई प्राथमिकता दिने तथा भू – राजनीतिक सन्तुलन कायम गर्दै राष्ट्रिय हित सुरक्षित गर्न सक्ने क्षमता रहेका नेता थापा हुन् । सर्लाही ४ वासीले पाएको मौकाको सदुपयोग गर्दै देशको भावी प्रधानमन्त्रीको उम्मेदवारलाई भारी मतान्तरले विजयी गराउनु पर्छ । उनको जीतले क्षेत्रसँगै जिल्लाको विकासमा ठूलो टेवा पुग्छ’, नेता महतोले भने ।
उनले युवा, महिला, किसान, मजदुर तथा सीमान्तकृत वर्गको आवाज संसदमा पुर्याउन सक्ने सक्षम, इमानदार र प्रशिक्षित नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै सचेत नागरिक र युवाहरूले सही नेतृत्व चयन गर्नुपर्ने बताए ।
महतोले आगामी निर्वाचनमा विकास, सुशासन र समृद्ध भविष्यका लागि सभापति थापालाई मतदान गर्न आग्रह गर्दै सर्लाही – ४ बाट परिवर्तनको सुरुवात गर्न आह्वान गरेका छन् ।








