‘आ बाट आमा’को कमाइ ९ करोड नजिक रहेको निर्माण पक्षको दाबी

फिल्म । चन्द्र पन्तको निर्देशनमा बनेको फिल्म ‘आ बाट आमा’ले प्रदर्शन सुरु गरेको करिब दुई सातामै ८ करोड ७२ लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माण पक्षले दाबी गरेको छ । गत माघ १६ गतेबाट प्रदर्शनमा आएको फिल्मको व्यापार ९ करोड नजिक पुगेको निर्माण पक्षले जनाएको छ । पहिलो हप्ताको तुलनामा दोस्रो साता दर्शकको चाप बढेसँगै फिल्मको व्यापारमा उल्लेख्य वृद्धि भएको निर्देशक चन्द्र पन्तले बताए ।

निर्देशक पन्तले भने, ‘दर्शकको माया पाइरहेका छौँ । देशभरका अधिकांश हलमा दर्शकको साथ छ । अहिलेसम्म फिल्मले ८ करोड ७२ लाखभन्दा बढी कमाइ गरिसकेको छ र व्यापार अझै बढ्दै गएको छ । शनिबार दर्शक अझै बढ्ने अपेक्षा गरेका छौँ ।’

फिल्मको कथावस्तुले दर्शकलाई भावनात्मक रूपमा छोएको निर्देशक पन्तको भनाइ छ । ‘आमा, बुबा र छोराबीचको सम्बन्ध तथा वैदेशिक रोजगारीका लागि विदेश जानुपर्ने पीडाको कथाले धेरै दर्शकलाई आफ्नै जीवनसँग जोडिएको अनुभूति गराएको छ’, उनले भने ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतीमा निर्माण भएको यस फिल्मको कथा तथा पटकथा निर्देशक पन्तले नै लेखेका हुन् । फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, गजित बिष्ट, बेगम नेपाली र रचना गौतमलगायत कलाकारको मुख्य भूमिका रहेको छ । कलाकारहरूको अभिनय दर्शकले निकै रुचाएको निर्माण पक्षको दाबी छ ।

फिल्मका निर्माता कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगाना हुन् भने कार्यकारी निर्माता करण सिंह रसाली रहेका छन् । संवाद लेखनमा अभिमन्यू निरवी, अमर न्यौपाने र चन्द्र पन्तले सहकार्य गरेका छन् ।

फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् । गीतको भिडियो कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् । नवराज उप्रेतीले छायांकन गरेको फिल्मको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् भने ट्रेलर तथा टिजर साहिल खानले तयार पारेका छन् । फिल्मको वितरण आरआर फिल्म्सले गरेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।

कमेन्ट गर्नुहोस्