ब्रेकअप चर्चाबीच ‘रमिताको पिरती’ मा सुशान्तले गाए गीत

फिल्म । अभिनेत्री आना शर्मा र गायक सुशान्त केसीको ब्रेकअप भएको चर्चाबीच फिल्म ‘रमिताको पिरती’मा समावेश सुशान्तको स्वरमा रहेको गीत ‘तिम्रै छेऊमा’ सार्वजनिक गरिएको छ । सुशान्तले गीतमा स्वर र संगीत दिएका छन् भने गीत फेसबुक र इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको हो ।

केही समयअघि आना र सुशान्तले एक अर्कालाई इन्स्टाग्राममा अनफलो गरेको खबर बाहिरिएसँगै उनीहरूको सम्बन्ध सकिएको चर्चा चलेको थियो । तर, आनाको मुख्य भूमिकासँगै निर्माण रहेको फिल्ममा सुशान्तले गीत दिएपछि उनीहरूबीचको सम्बन्ध अझै सौहार्दपूर्ण रहेको संकेत गरेको टिप्पणी गरिएको छ । सुशान्तले फिल्म राम्रो बनेको प्रतिक्रिया दिँदै आनालाई इन्स्टाग्राम पोस्टमार्फत शुभकामना पनि दिएका थिए ।

सार्वजनिक गीतमा धिरज मगर र आनाबीचका दृश्यहरू समावेश गरिएका छन् । गीतले उनीहरूबीचका भावनात्मक र हार्दिक क्षणहरूलाई कैद गरेको देखिन्छ । सुदिप्ताको लेखन तथा निर्देशन रहेको फिल्मले ‘रमिता’ नामकी युवतीको सम्बन्धका विभिन्न आयामको कथा प्रस्तुत गर्छ । लेखन, निर्देशन र अभिनय पक्षको प्रशंसा भइरहेको छ भने आनाको अभिनय अहिलेसम्मकै उत्कृष्ट रहेको भन्दै दर्शकले सामाजिक सञ्जालमा प्रतिक्रिया दिएका छन् ।

फिल्ममा आना शर्मासँगै धिरज मगर, समिर श्रेष्ठ, विनय श्रेष्ठ, रेनु योगी लगायत कलाकारहरूको अभिनय रहेको छ। फिल्मको छायांकन शिशिर विसङ्खेले गरेका हुन् भने सम्पादन सुनिल शिवभक्तिले गरेका छन् ।

कमेन्ट गर्नुहोस्