फिल्म । गत माघ १ गतेदेखि प्रदर्शनमा आएको फिल्म ‘मिरमिरे’ ले घरेलुबजारमा राम्रो व्यापार गर्न सकेको छैन । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ले प्रदर्शनरत नेपाली फिल्मको गएको माघ १७ गते शनिवारसम्मको कारोबारसम्बन्धी विवरण सोमबार सार्वजनिक गरेको हो । सो अवधिमा फिल्मले रु ३३ लाख ९१ हजार ७२५ आम्दानी गरेको छ ।
बुवाछोरीबीचको भावनात्मक सम्बन्ध र त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्ममा दयाहाङ राई, प्रकाश सपूत, सिर्जना निङलेखु, माओत्से गुरुङ, छुल्ठिम गुरुङ, भोलाराज सापकोटा, विमल यादव, शाइसा गौचन, दिविशा पन्त, चिराग श्रेष्ठ र नमनराज गजुरेललगायत कलाकारको अभिनय रहेको छ । उक्त फिल्मका १० हजार ८८४ वटा टिकट बिक्री भएका छन् ।
यम शेर्पाको निर्देशनमा तयार भएको फिल्मले घरेलुबजारमा लगानी उठाउन कठिनाई देखिएको छ ।











