फिल्म । कलाकार जितु नेपाल ‘मुन्द्रे’ले आफू निर्मित तथा अभिनित फिल्म ‘आइएम जितबहादुर’को छायांकन पूरा भएको जनाएका छन् । बिहीबार शंखमूलस्थित आफ्नै रेस्टुरेन्ट ‘ए वान क्याफे’मा अन्तिम दृश्य खिच्दै फिल्मको छायांकन सम्पन्न गरिएको हो ।
कथानुसार अवार्ड समारोहको दृश्य छायांकन गर्दै फिल्मको सुटिङ सकिएको निर्माण पक्षले जनाएको छ । उक्त दृश्यमा जितु नेपालको फिल्म ‘ज्वाइँ साब’की सह अभिनेत्री नीति शाह र अभिनेता आर्यन सिग्देल अतिथि भूमिकामा देखिएका छन् ।
फिल्मको छायांकन १५ औँ दिनमा सम्पन्न भएको हो । छायांकन सम्पन्न भएपछि निर्माण टिमले इन्ड क्ल्याप पार्टीसमेत आयोजना गरेको थियो । छायांकनका क्रममा नीति शाहकी फियान्से यान्चित राणा पनि सेटमा देखिएकी थिइन् । नीति र यान्चितबीच यही फागुन ८ गते विवाह तय भएको बताइएको छ ।
हिन्दी र बंगाली फिल्मका निर्देशक शुभेन्दु घोषको निर्देशनमा बनेको यस फिल्ममा प्रियंका कार्की र वर्षा राउतको पनि अभिनय रहेको छ । नेपाली कलाकारको संघर्ष र सफलताको कथामा आधारित फिल्मको कथावस्तुमा जितु नेपालको जीवनका केही अंश पनि समावेश रहेको जनाइएको छ ।










