फिल्म । नेपाली फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को पहिलो गीत सार्वजनिक गरिएको छ । बसन्त पञ्चमीको अवसर पारेर शुक्रबार सार्वजनिक गरिएको यो गीत ‘घर मेरो सानो बुकुरो’ बोलको मर्मस्पर्शी रहेको छ । फिल्मका निर्देशक सुदीप भुपाल सिंहकै शब्द रचना, रञ्जित गजमेरको संगीत रहेको छ । गीतको भिडियोमा फिल्मका मुख्य कलाकार आशीर्वाद क्षेत्री र लक्ष्मी गिरी सहरबाट गाउँ फर्किने क्रममा भोग्ने यात्राका विभिन्न उतारचढावलाई प्रस्तुत गरिएको छ ।
पछिल्लो समय सामाजिक पारिवारिक फिल्मले दर्शकको मन जितिरहेको सन्दर्भमा ‘श्री बुकुरो’ को विशुद्ध पारिवारिक कथालाई दर्शकले मन पराउने विश्वास निर्देशक सिंहको छ । यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायत कलाकारको अभिनय रहेको छ ।
निर्देशक सिंहकै लेखन रहेको फिल्मलाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । फिल्ममा सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर, बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका हुन् ।










