फिल्म । चलचित्र विकास बोर्डले हाल फिल्म भवनमा प्रदर्शनरत नेपाली फिल्महरूको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्डअन्तर्गत रहेको ‘सिनेपा @ बक्सअफिस’ ले प्रदर्शनरत नेपाली फिल्महरूको माघ ३ गते शनिबारसम्मको कारोबारसम्बन्धी विवरण सार्वजनिक गरेको हो ।
गत कात्तिक १४ गतेदेखि प्रदर्शन सुरु भएको फिल्म ‘परान’ ले उल्लेखनीय व्यापार गरेको छ । दीपकप्रसाद आचार्यको निर्देशनमा तयार भएको यस फिल्मले सो अवधिसम्म १७ करोड ७७ लाख २५ हजार ४८५ रुपैयाँ आम्दानी गरेको छ । फिल्मका लागि कुल ६ लाख ३० हजार ६९१ वटा टिकट बिक्री भएका छन् ।
फिल्म ‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी र सुव्रत आचार्यलगायत कलाकारको अभिनय रहेको छ । दर्शकको राम्रो साथका कारण फिल्मले घरेलु बक्सअफिसमा मजबुत उपस्थिति जनाइरहेको बोर्डको विवरणमा उल्लेख गरिएको छ ।
कमेन्ट गर्नुहोस्










