फिल्म । १० वर्षसम्म चलेको माओवादी द्वन्द्वलाई विषय बनाएर नेपालमा थुप्रै फिल्म निर्माण हुँदै आएका छन् र यो क्रम अझै जारी छ । यही सन्दर्भमा पछिल्लो समय बनेको छोटो फिल्म ‘सुपरमंक’ युट्युबमा सार्वजनिक गरिएको छ । विश्वका विभिन्न फिल्म महोत्सवहरूमा सफल प्रदर्शन गर्दै पुरस्कृत भइसकेको ‘सुपरमंक’ लाई निर्माण कम्पनि षट्कोण आर्ट्सले युट्युबमा रिलिज गरेको हो ।
सेनाङ ग्याम्जो तामाङको निर्देशनमा बनेको १८ मिनेटको यो छोटो फिल्मले द्वन्द्वकालमा नेपालको पहाडी भेगस्थित गुम्बामा शरण लिएका विद्रोही पक्षका एक बालक र एक भिक्षु बालकबीच विकसित मित्रताको कथा प्रस्तुत गर्छ । फिल्मले भिक्षु बालकले फिल्ममार्फत सिकेको नायकत्व कसरी अर्को बालकको ज्यान जोगाउने माध्यम बन्छ भन्ने सन्देश प्रभावशाली रूपमा प्रस्तुत गरेको छ । फिल्ममा नोर्देन लामा, किरण गौतम, आकाश, स्ये नाम्खा दोर्जे, शारदा अधिकारी, असीम खनाल, विनेश युगराज श्रेष्ठ र केदार श्रेष्ठलगायत कलाकारको अभिनय रहेको छ।
निर्देशक सेनाङ ग्याम्जो तामाङकै कथामा आधारित यस फिल्मको पटकथा तथा संवाद प्रचण्डमान श्रेष्ठ र अभिनाश विक्रम शाहले लेखेका हुन् । फिल्मको सबैभन्दा सबल पक्ष दुई बालकलाकारको प्रभावशाली अभिनय रहेको छ । अभिनय, लोकेसन र कथावस्तुको दृष्टिले आकर्षक बनेको ‘सुपरमंक’ सन् २०१८ मा स्विट्जरल्यान्डमा सम्पन्न ७६औँ ‘लोकार्नो फिल्म फेस्टिभल’ मा विश्व प्रिमियर, सन् २०१८ मा दक्षिण कोरियामा आयोजित ‘बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’मा एसियाली प्रिमियर भएको थियो ।
सन् २०१८ मा फ्रान्समा सम्पन्न ‘वार अन स्क्रिन फिल्म महोत्सव’ मा क्यानाल अवार्ड, सन् २०१८ मा नेपालमा आयोजित ‘काठमाडौं अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा अडियन्स अवार्ड, सन् २०१९ मा अमेरिकामा सम्पन्न ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल’ मा विशेष प्रशंसा (स्पेसल मेन्सन) अवार्ड, सन् २०१९ मा नेपालमा आयोजित ‘यला अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (YIIFF)’ मा अडियन्स अवार्ड, सन् २०१९ मा ‘नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (NIFF)’ मा अडियन्स अवार्ड जितेको थियो ।








