फिल्म । चलचित्र विकास बोर्डले गएको साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यका र उपत्यकाबाहिरका विभिन्न जिल्लामा बक्सअफिस प्रणालीको अनुगमन गरेको छ । बोर्ड सदस्य गणेश सुबेदी नेतृत्वको २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पालगायत जिल्लाका ६० वटा फिल्म हलको निरीक्षण गरेको बोर्डले जनाएको छ ।
अनुगमनका क्रममा अधिकांश हलले बक्स अफिस प्रणालीअनुसार टिकट बिक्री गरेको पाइएको छ । तर, दुई सिंगल थिएटरमा ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको छ । बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकोले ती हललाई नियमानुसार दण्ड-जरिवाना गरिने बोर्डले बताएको छ ।
यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनमा ९ हल अवैधानिक रूपमा सञ्चालित भएको पाइएको थियो । तीमध्ये ३ हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो । बोर्डका अनुसार नियमित अनुगमनले फिल्म हलहरू नियमनमा रहने, शुल्क समयमै बुझाउने र बक्स अफिस प्रणालीको कार्यान्वयन प्रभावकारी हुने देखिएको छ ।












