फिल्म । बलिउडमा रोमान्टिक फिल्मको चर्चा हुँदा दिलवाले दुल्हनिया ले जाएंगे र मोहबत्तेको चर्चा हुने गर्छ । फिल्मको गीतसंगीत र कथाले दर्शकको मन जितेको थियो । यी दुइ फिल्मको गीतले दर्शक तथा श्रोताको मनमा अहिलेसम्म राज गरिरहेको छ । यिनै दुइ फिल्मका निर्देशक हुन् , आदित्य चोपडा । उनकै यो दुइ फिल्म हेरेर कयौँले प्रेमको महसुस गरेको खबर पनि भारतीय मिडियामा नआउने गरेको होइन । तर , पछिल्लो समय आफु निर्देशित ‘बेफिक्रे’ को असफलतापछी आदित्यले निर्देशनमा आएका छैनन् ।
बलिउडमा रोमान्टिक ड्रामा बनाउने निर्देशकको परिचय बनाएका आदित्यले पछिल्लो पुस्ताको प्रेम भावलाई फिल्ममा समेट्न सकेनन् । रणवीर सिंह लिड कास्ट रहेको ‘बेफिक्रे’ को नत गीतसंगीत नै दर्शकको मनमा बस्यो नत फिल्म नै । ‘अहिलेको पुस्ताको प्रेम स्ट्रगल कमजोर छ , त्यसैले भावनात्मक रुपमा जोड्न गाह्रो हुन्छ’ आदित्यले एक अन्तर्वार्ताको क्रममा भने ,’अहिलेको पुस्तालाई दायित्व र प्रेम फिल्म गराउनु पर्छ , त्यो सहज छैन ।’ उनले ‘बेफिक्रे’ मा मोडर्न प्रेम कथा पस्किएका थिए ।
यो उनका पछिल्ला फिल्मको तुलनामा निकै फरक थियो । यसलाई आदित्यले पनि स्वीकारे । ‘मेरो अघिल्लो फिल्ममा हिरोइनको एक झलक पाउन हिरोले निकै स्ट्रगल गर्थ्यो । तर , बेफिक्रेमा मैले इन्ट्रो नै बेडसिनबाट दिनु पर्ने अवस्था थियो । अहिले अवस्था फेरिएको छ , त्यसैले अहिलको पुस्तालाई कथा भन्न सहज छैन’ आदित्यले भने । पछिल्लो समय उनि फिल्म निर्माणमै सक्रिय छन् । नयाँ कन्सेप्ट र ठुला फिल्मका सिरिजलाइ उनले निरन्तरता दिने योजनामा छन् । ‘हाम्रो व्यानरको ५० औँ वर्ष पुगेको छ । यो अवसरमा हामी केहि महत्वपूर्ण फिल्महरु घोषणा गर्दैछौ’ उनले भने । यो वर्ष यशराज फिल्म्सले धुम , वार लगायतका फिल्मको सिरिज घोषणा गर्ने सम्भावना छ । साथै , पर्दामा नदेखिएको जोडी र स्टारकास्टलाई लिएर फिल्म बनाउने तयारीमा पनि यशराज फिल्म्स रहेको छ । (एजेन्सी)











