यमनले नेवारी भर्सनमा गाए ‘लैजा खबर ए हावा’

फिल्म । विपना थापा र पल शाहको मुख्य भूमिका रहेको फिल्म ‘आ बाट आमा’मा समावेश गीत ‘लैजा खबर ए हावा’लाई नेवारी भर्सनमा पनि रेकर्ड गरिएको छ । रिलिजसँगै चर्चामा आएको यो गीतलाई नेवारी समुदायलाई लक्षित गर्दै नेवारी भाषामा प्रस्तुत गरिएको हो । निर्देशक चन्द्र पन्तको पहलमा गीतको नेवारी संस्करण तयार गरिएको हो । उक्त भर्सनलाई गायक यमन श्रेष्ठले स्वर दिएका छन् ।

बाबुल गिरीको शब्द रचनामा रहेको नेपाली संस्करणको गीत नेवारी भाषामा गाउन पाउँदा आफू निकै खुशी भएको यमनले बताए । उनले यो गीत युट्युबमा सुनेर निकै भावुक बनेको र फिल्म टिमबाट नेवारी भर्सनका लागि प्रस्ताव आएपछि आफूले सहर्ष स्वीकार गरेको बताए ।

यमनका अनुसार नेवारी शब्दको अनुवाद उनका बुबा मदनकृष्ण श्रेष्ठले गरिदिएका हुन् । ‘मेरो भन्दा बुबाको नेवारी भाषा राम्रो भएकाले उहाँसँगको सहकार्यमा गीत तयार भयो’, उनले भने । गीत गाउँदा आफू पनि निकै भावुक भएको र फिल्ममा जस्तै अनुभूति भएको यमनको भनाइ छ ।

गीतको नेपाली संस्करणलाई गायक रवि ओडले गाएका छन् । सन्तान परदेशिन लाग्दा नेपालमा रहेका बुबाआमाको भावनालाई केन्द्रमा राखेर फिल्मको कथा बुनेको छ । निर्देशक पन्तले प्रचार शैलीलाई फरक बनाउने उद्देश्यले नेपालीसँगै नेवारी भाषामा पनि गीत रेकर्ड गरिएको बताए । अन्य भाषामा समेत गीत रेकर्ड गर्ने विषयमा छलफल भइरहेको उनले जानकारी दिए ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्ममा विपना थापा, पल शाहसँगै प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको अभिनय रहेको छ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको फिल्ममा संगीत कोसिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् ।

फिल्मको डिओपी नवराज उप्रेती हुन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । आगामी माघ १६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘आ बाट आमा’को नेपालमा वितरण अधिकार आरआर फिल्म्ससँग रहेको छ भने डिजिटल अधिकार ओएसआर डिजिटलले लिएको छ ।

कमेन्ट गर्नुहोस्