स्वास्थ्यकर्मीको ‘नसोध मलाई…’ (भिडियो)

संगीत । कोभिड–१९ बाट संक्रमित विरामीहरुको उपचारमा पछिल्लो एक वर्षदेखि सक्रियतापूर्वक खटिनु भएका वरिष्ठ चिकित्सक डा.रणजीत कुमार झा कुशल गायक तथा संगीतकार पनि हुनुहुन्छ भन्ने कुरा धेरैलाई थाहा छ । लामो समयदेखि राजबिराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा सिनियर कन्सल्ट्यान्ट फिजिसियन तथा प्रमुखको रुपमा कार्यरत डा.झाले यतिबेला कोरोना भाइरसका संक्रमितहरुको उपचारमा खटिएका सम्पूर्ण स्वास्थ्यकर्मीहरुको सम्मानमा एउटा गीत गाउनु भएको छ ।

‘नसोध मलाई‘’ शीर्षकको उक्त गीतमा संक्रमितहरुको उपचारमा खटिएका चिकित्सकहरुको मनोदशा मात्र चित्रण गरिएको छैन, चिकित्सकहरुले आफ्ना सम्पूर्ण पीडाहरु बिर्सिएर पनि बिरामीको उपचारमा खटिएका छन् भन्ने सन्देश बोकेको छ । डा.रणजीत कुमार झाद्वारा नै प्रस्तुत गरिएको उक्त गीतमा डा.झाको स्वर सुन्न सकिन्छ भने शब्दहरु गिरिराज निरौलाले रचना गर्नु भएको हो । गीतमा डा.झा तथा गीतकार निरौलाको संगीत निर्देशन छ ।

गीतमा महाराज थापाको संगीत संयोजन छ भने साजन शाहले यसलाई मिक्सिङ तथा मास्टरिङ गरेका छन् । भिडियोमा निर्देशक निशान कश्यपको अवधारणा तथा निर्देशन रहेको छ । महेश खड्का तथा सुशिला थापाको अभिनय गरेको भिडियोमा गायक डा.झा पनि प्रस्तुत हुनु भएको छ । भिडियोमा अस्पतालमा उपचाररत संक्रमितहरुलाई पनि चित्रण गरिएको छ । मुकेश हुमागाईंद्वारा छायांकन गरिएको उक्त भिडियोमा निर्देशक निशान कश्यपकै रंग संयोजन तथा सम्पादन रहेको छ ।

कमेन्ट गर्नुहोस्