फिल्म । आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘दिमाग खराब’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । प्रतिक्षित निश्चल बस्नेत निर्देशित फिल्मको चर्चाकै कारण मंगलवार नै देशभरका मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले ‘दिमाग खराब’लाई उच्च शो दिएका हुन् । सम्पूर्ण वर्गका दर्शकले हेर्न मिल्ने फिल्मको टिकेट अनलाइन वा हलमा पुगेर दर्शकले खरिद गर्न सक्नेछन् ।
निर्माण टिमले प्रदर्शन अगाडी गरेको व्यापक प्रचारको फाईदा शोमा देखिएको छ । निर्देशक बस्नेत ६ वर्षपछि निर्देशनमा फर्केकाले पनि दर्शक सिनेमा हेर्न उत्साहीत छन् । जसको फाइदा बक्सअफिसमा देखिने विश्वास निर्माण टिमलाई छ ।
देशकै ठुलो मल्टिप्लेक्स चेन क्युएफएक्सले सिनेमालाई काठमाडौं उपत्यकामा २५ शो दिएको छ, भने मोफसलका चेनमा ३३ शो उपलब्ध गराएको छ । यस्तै, दोस्रो ठुलो मल्टिप्लेक्स चेन आईएनआई सिनेमाज्ले १४ शो, वान सिनेमाज्ले १० शो, एफक्युबले ६ शो, बिग मुभिजले ५ शो, क्युज सिनेमाज्ले ५ शो, रञ्जना सिनेप्लेक्सले ७ शो, सिके सिनेमाज्ले ५ शो, सिने डी सेफले ३ शोमा अग्रीम टिकट बुकिङ खोलेका छन् ।
फिल्ममा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।
कात्तिक २४ मा प्रदर्शन तय गरिएको फिल्ममा आकाश बरालले लेखन, सुशन प्रजापतिले छायाङ्कन, निमेष श्रेष्ठले सम्पादन, जयन के बाइबा र बाबुल गिरीले सङ्गीत, राजकुमार उप्रेतीले द्वन्द्व निर्देशन तथा रोहित शाक्यले पार्श्व सङ्गीत सिर्जना गरेका छन् । सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको फिल्ममा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रहेका छन् ।












