सङ्गीत । गायक सज्जनराज वैद्यको सन् २०२६ का लागि तय गरिएको अन्तर्राष्ट्रिय टूरमा धक्का लागेको छ । उनले जनवरी ४ मा दुबईमा नयाँ वर्षको पहिलो प्रस्तुति दिने तयारी गरेका थिए । तर युएईले भिसा स्वीकृत नगरेपछि उक्त कार्यक्रम स्थगित भएको छ । यसअघि ‘जेनजी आन्दोलन’का कारण रोकिएको वैद्यको टूर सोही मितिबाट पुनः सुरु गर्ने तयारी गरिएको थियो । यसपटक भने राजनीतिक कारण नभई भिसा अस्वीकृत भएकै कारण दुबई कार्यक्रम रोकिएको हो ।
वैद्यले सामाजिक सञ्जालमार्फत दुबईस्थित दर्शक र फ्यानलाई जानकारी दिँदै कार्यक्रम स्थगित हुन गएकोमा क्षमायाचना गरेका छन् । उनले सन् २०२६ भित्रै दुबईमा पुनः कार्यक्रम आयोजना गरिने विश्वास व्यक्त गरेका छन् ।
उनले आफ्नो सन्देशमा नेपालमा भएका पछिल्ला घटनाक्रमका कारण भिसा स्वीकृति पाउन अत्यन्त कठिन भएको उल्लेख गरेका छन् । सबै प्रयासका बाबजुद आफू र टिमका सबै भिसा आवेदन अस्वीकृत भएपछि कार्यक्रम स्थगित गर्ने निर्णय लिनुपरेको उनले बताएका छन् ।
वैद्यले दर्शकहरूले कार्यक्रमका लागि बिदा लिएको, तयारी गरेको र उत्सुकतापूर्वक पर्खिरहेको अवस्थालाई आफूहरूले बुझेको उल्लेख गर्दै यसबाट उत्पन्न निराशाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । स्थगित कार्यक्रम अब २०२६ मै नयाँ मितिमा आयोजना गरिने जनाउँदै उनले हाल बिक्री भएका टिकट नयाँ मितिका लागि मान्य हुने बताए । साथै, टिकट फिर्ता, स्थानान्तरण वा अन्य आवश्यक सहयोगका लागि आयोजक टोली उपलब्ध रहने जानकारी पनि दिएका छन् ।











