फिल्म । तेलंगाना प्रहरीले दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई फिल्म ‘पुष्पा २: द रुल’ को प्रिमियरका क्रममा मच्चिएको भागदौड प्रकरणमा आरोपी बनाएको छ । प्रहरीले हैदराबादको नम्पल्ली अदालतमा १०० पृष्ठको अभियोगपत्र (चार्जसिट) दर्ता गर्दै व्यवस्थापनको कमजोरीका कारण दुर्घटना भएको निष्कर्ष निकालेको हो ।
गत वर्ष डिसेम्बर ४ मा हैदराबादस्थित सन्ध्या थिएटरमा भएको उक्त भागदौडमा परी रेवती नामकी एक महिलाको मृत्यु भएको थियो भने उनका ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए । प्रहरीले थिएटर व्यवस्थापनलाई मुख्य दोषी ठहर गर्दै प्रवेश र निकासको उचित व्यवस्था नहुनुका साथै भीड नियन्त्रणमा गम्भीर लापरवाही भएको उल्लेख गरेको छ ।
यस प्रकरणमा अल्लु अर्जुनलाई ‘आरोपी नम्बर ११’ बनाइएको छ । उनीसँगै उनका निजी सुरक्षाकर्मी, म्यानेजर र बाउन्सरहरूविरुद्ध पनि भारतीय न्याय संहिता (बीएनएस) का विभिन्न धाराअन्तर्गत लापरवाहीका कारण मृत्यु गराएको तथा सार्वजनिक सुरक्षामा खतरा पुर्याएको अभियोग लगाइएको छ । अनुसन्धानका क्रममा स्थिति नियन्त्रणबाहिर जान लागेको जानकारी अर्जुनका म्यानेजरलाई गराइए पनि त्यसलाई बेवास्ता गरिएको पाइएको प्रहरीले जनाएको छ ।
भागदौड भएको ९ दिनपछि, १३ डिसेम्बरमा पक्राउ परेका अल्लु अर्जुनलाई १४ डिसेम्बरमा उच्च अदालतले जमानतमा रिहा गरेको थियो । रिहाइपछि आयोजित पत्रकार सम्मेलनमा उनले घटनालाई ‘दुर्भाग्यपूर्ण दुर्घटना’ भन्दै आफू र आफ्नो परिवार हलभित्र रहेको तथा घटना बाहिर घटेको दाबी गरेका थिए । साथै, उनले मृतक परिवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।










