फागुन १ मै आउने भयो ‘लालीबजार’

फिल्म । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ आगामी फागुन १ गतेबाट देशव्यापी रूपमा प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले फिल्मको छायांकन निर्धारित समयमै सम्पन्न भएसँगै पहिले नै घोषणा गरेको रिलिज मिति मै प्रदर्शन हुने तय गरेको हो ।

फिल्मको छायांकन बर्दियाको राजापुर ४० दिनमै सम्पन्न गरिएको निर्माण टिमले जनाएको छ । छायांकन सकिएसँगै षट्कोण आर्टसको कार्यालयमा यसको धमाधम सम्पादन भईरहेको छ ।

‘लालीबजार’ मा लोकप्रिय अभिनेत्री स्वस्तिमा खड्का मुख्य भूमिकामा देखिँदैछिन् । यसअघि सार्वजनिक गरिएको पोस्टरमा स्वस्तिमा गर्भवती महिलाको फरक अवतारमा देखिएपछि फिल्मको कथावस्तुबारे दर्शकमाझ चासो बढेको थियो । यद्यपि, निर्माण पक्षले फिल्मको विषयवस्तु र अन्य कलाकारबारे भने हालसम्म विस्तृत जानकारी सार्वजनिक गरेको छैन ।

फिल्मको लेखन तथा निर्देशन यम थापाले गरेका हुन् । कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । स्वस्तिमा खड्काको फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढ्दै गएको निर्माण पक्षको विश्वास छ ।

कमेन्ट गर्नुहोस्