प्रदर्शकहरू पैसामुखी मात्र भए : निर्देशक घिमिरे

फिल्म । ठूला विदेशी फिल्म रिलिज हुने समयमा नेपाली फिल्मले पर्याप्त शोज नपाउने समस्या कुनै नौलो विषय होइन । पटक-पटक निर्माताहरू र निर्देशकहरूले आफ्ना फिल्मले शोज नपाएको गुनासो गर्दै आएका छन्, जसका कारण उनीहरू मानसिक दबाबमा पर्न बाध्य हुने गरेका छन् । यस्तै अवस्था अर्जुन घिमिरे निर्देशित नेपाली फिल्म ‘झरीपछिको इन्द्रेणी’ ले पनि भोगिरहेको छ । दर्शकबाट सकारात्मक ‘वर्ड अफ माउथ’ पाइरहेको भए पनि फिल्मले अपेक्षित रूपमा शोज पाउन सकेको छैन । हलिउडको ‘अवतार’ र भारतीय फिल्म ‘धुरन्धर’ जस्ता ठूला विदेशी फिल्मका कारण यो फिल्म दबाबमा परेको देखिन्छ ।

दर्शक हलसम्म आइपुगे पनि शोज नपाउँदा निर्देशक घिमिरेले असन्तुष्टि व्यक्त गरेका छन् । मिडियाकर्मीहरूसँग कुरा गर्दै उनले भने, ‘नेपालीपनलाई माया गरौँ, नेपाली फिल्मलाई माया गरौँ भन्ने कुरा बोलीमा मात्र सीमित भएको जस्तो लाग्न थालेको छ । हामीले बलियो स्टार कास्ट राखेर बनाएको फिल्म होइन, तर हरेक कोणबाट यो फिल्म सबल छ ।’

दर्शक आएर पनि फिल्म हेर्न नपाएको अवस्थाप्रति दुःख व्यक्त गर्दै उनले थपे, ‘हलमा मान्छे नै नआएको भए शोज नपाउनु स्वाभाविक हुन्थ्यो। तर, दर्शक आउँदा पनि शोज नपाउँदा अचम्म लाग्दोरहेछ। शोजको अभावकै कारण धेरै दर्शकले फिल्म हेर्न पाएका छैनन्। यस विषयमा वितरकले पनि ध्यान दिनुपर्ने हो, तर वितरकलाई मैले फिल्म चल्नु अघिपछि एक–दुई दिन बाहेक देखेको छैन। यो विषयमा वितरक र प्रदर्शक दुवैले गम्भीर रूपमा विचार गर्नुपर्छ।’

निर्देशक घिमिरेले प्रदर्शकहरू पैसामुखी मात्र भएको आरोप पनि लगाए । उनले भने, ‘सायद पैसाले पुगेर होला, त्यसैले हाम्रो फिल्मलाई शोज दिन चाहनु भएको छैन । नत्र दर्शक आएपछि शोज त दिनुपर्ने होइन र ? सबै हिसाबले राम्रो हुँदाहुँदै पनि यो फिल्मले मार खेपिरहेको छ ।’

समस्याको समाधान आवश्यक रहेको औँल्याउँदै उनले सधैँ नेपाली फिल्मका स्रष्टा र निर्माता नै मारमा पर्ने गरेको गुनासो गरे । साथै, फिल्म क्षेत्रभित्रबाट अपेक्षित सहयोग नपाएको भन्दै उनले समग्र प्रणालीमाथि पुनर्विचार आवश्यक रहेको बताए । फिल्ममा गणेश उप्रेतीसँगै रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय रहेको छ । निर्देशक अर्जुन घिमिरे स्वयंको कथा रहेको फिल्मबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारका रूपमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । फिल्मको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् भने छायाङ्कन बुद्ध थापाले गरेका छन् । अनिशा सेन्दाङ लिम्बू फिल्मकी निर्मात्री हुन् ।

फिल्मका सह-निर्मातामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की रहेका छन् भने लाइन प्रोड्युसरका रूपमा योगेश खतिवडा र विनोद कँडेल रहेका छन् ।

कमेन्ट गर्नुहोस्