फ्राइडे फिल्म : हलमा ‘झरीपछिको इन्द्रेणी’

फिल्म । पर्दामा दर्शकलाई हँसाउँदै मनोरञ्जन दिँदै आएका हास्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ समाजका गम्भीर मुद्दा लिएर निर्देशन गरेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ ।

नागराज इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मले मनोरञ्जनसँगै भ्रष्टाचार, सामाजिक बेथिति र विसङ्गतिविरुद्धको विद्रोही आवाज उठाउने निर्माण पक्षको दाबी छ । निर्देशक घिमिरेले फिल्मको कथावस्तु समसामयिक राजनीतिक र सामाजिक परिवेशसँग ठ्याक्कै मेल खाने बताए।

‘हामीले जेन्जी आन्दोलन सुरु हुनुअघि नै फिल्मको छायाङ्कन सकेका थियौँ, तर संयोगले फिल्मले अहिले सडकमा देखिएको युवाको आक्रोश र आवाजलाई नै बोकेको छ,’ घिमिरेले भने, ‘भ्रष्टाचार र बेथितिविरुद्धको चेतनालाई फिल्ममार्फत उजागर गर्ने प्रयास गरेका छौँ।’

उनले फिल्मकर्मीको दायित्व केवल हँसाउनु मात्र नभई समाजलाई सही दिशातर्फ सचेत गराउनु पनि रहेको उल्लेख गर्दै भने, ‘देशभक्त नागरिकले सोच्ने कोणबाट यो फिल्म तयार पारिएको हो। ‘झरीपछिको इन्द्रेणी’ भनेको अध्यारोपछिको उज्यालोको प्रतीक हो ।’

फिल्ममा पुराना स्टार र नयाँ पुस्ताका कलाकारको सन्तुलित संयोजन देख्न सकिन्छ । लामो समयपछि ठूलो पर्दामा फर्किएका अभिनेता रमेश उप्रेतीले फिल्मले देशको वर्तमान अवस्थालाई यथार्थपरक रूपमा चित्रण गरेको बताए । फिल्ममा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, प्रियना आचार्य (मुन्नी), विमोचन दवाडी, जेसिका पोखरेललगायत कलाकारको अभिनय रहेको छ।

फिल्मको कथा निर्देशक अर्जुन घिमिरे स्वयंले लेखेका हुन् भने पटकथा गणेश कार्की र विशाल घिमिरेले तयार पारेका छन् । छायाङ्कन बुद्ध थापाले गरेका छन् । आजदेखि देशभर प्रदर्शनमा आएको ‘झरीपछिको इन्द्रेणी’ले सामाजिक यथार्थ र युवाको आवाजलाई पर्दामा कसरी प्रस्तुत गर्छ भन्नेमा दर्शकको चासो बढेको छ ।

कमेन्ट गर्नुहोस्