मलाई यस्तो भूमिका गर्ने रहर थियो : पल शाह

फिल्म । म्युजिक भिडिओबाट उदाएका कलाकार हुन् पल शाह । उनले म्युजिक भिडिओमा प्राप्त गरेको लोकप्रियताले फिल्ममा प्रवेश गर्न सजिलो बनायो । सुरुआती दिनमा त्यहि लोकप्रियताले फिल्मलाई व्यावसायिक लाभ पनि दियो । तर, विस्तारै उनको अभिनयको आलोचना हुन् थाल्यो । अभिनयमा कम्जोर पललाई उनको फिल्मले दिने व्यवसायिक नतिजाले झनै आलोचित बनायो । त्यो बाहेक उनको वास्तविक जीवनको उतारचढावले पनि केही हदसम्म व्यवसायिक जीवनलाई असर गर्यो ।

त्यसकारण पल पछिल्लो समय आफ्नो छवि बदल्न खोजिरहेका छन् । उनले आफ्नो स्टारडमसँगै कलाकारितालाई पनि दर्शकसम्म पुर्याउने प्रयाश गरेका छन् । उनले अभिनय गरेको पछिल्लो फिल्म ‘आ बाट आमा’ मा पलले आफ्नो नियमित शैलीलाई त्यागेर अभिनेताको रुपमा प्रस्तुत गर्न निर्माण पक्षलाई आग्रह गरेका छन् ।

सोही कारण सार्वजनिक सामग्रीमा पल भन्दा पनि फिल्मको क्यारेक्टर देखाउने कोसिस निर्माण पक्षको छ । पलले पनि आफूले फरक फिल्ममा काम गर्ने इच्छा पुरा भएको स्वीकारे ।

‘हामी काचो माटो हो, हामीलाई के बनाउने भन्ने निर्देशककै हातमा हुन्छ । मलाई यस्तो भूमिका गर्ने रहर थियो, सबै कलाकारलाई हुन्छ होला । तर, सही टिम र निर्देशक पाएँ र मलाई पनि विश्वास गर्नुभयो । मैले यस्तो भूमिका गर्न सक्छु की सक्दिन भन्ने दोधारमा हुँदा नै निर्देशकले देखाउनुभएको आत्मविश्वासले पनि मलाई ऊर्जा थपेको थियो । मैले इमान्दार भएर आफ्नो काम गर्ने कोसिस गरेको छु’, पलले भने ।

उनले सार्वजनिक पोस्टर र गीतमा देखिएको पल शाहले नर्भस नभई उत्साहित बनाएको प्रतिक्रिया दिए । ‘मैले प्रेसर लिएको छैन, दर्शक प्रतिक्रिया लिन उत्साहित छु । यो हरेक घरको कथा हो, यो हाम्रो घर र समाज भन्दा पर छैन । त्यसैले म यसपटक दर्शकको प्रतिक्रिया लिन अधर्य छु’, उनले भने ।

पलले फिल्मको कथाले दर्शकलाई रुवाउने, हसाउने विश्वास व्यक्त गरे । निर्देशक चन्द्र पन्तको निर्देशन, कथा तथा पटकथामा बनेको फिल्ममा विपना थापा, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीले मुख्य भूमिका निर्वाह गरेका छन् । आर्या इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्मको छायांकन निर्देशक नवराज उप्रेतीले गरेका छन् । फिल्मको संगीतमा कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमको योगदान रहेको छ। गीतहरूको कोरियोग्राफी गम्भीर बिष्ट र दिलीप ओखेडाले गरेका छन् ।

अभिमन्यु निरवीले लेखेको फिल्मको संवादमा अमर न्यौपाने, अभिमन्यु निरवी र चन्द्र पन्तको सहकार्य रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाश जंग कुँवर, ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको छ भने कार्यकारी निर्माता करण सिंह रसाली हुन् । फिल्मको ट्रेलर र टिजर साहिल खानले सम्पादन गरेका छन् ।

कमेन्ट गर्नुहोस्