सलमानको ‘ब्याटल अफ गल्वान’ मा अनुप

फिल्म । अभिनेता अनुपविक्रम शाहीले बलिउडमा प्रवेश गरेका छन् । भारतीय अभिनेता सलमान खानको आगामी फिल्म ‘ब्याटल अफ गल्वान’ मा अनुपले काम गरेका हुन्। सलमान खान फिल्मसको ब्यानरमा निर्माणाधीन यो वार ड्रामामा सलमानसँग अनुपले स्क्रिन सेयर गर्नेछन् । सन् २०२० मा गल्वान भ्यालीमा भारतीय र चिनियाँ सेनाबीच भएको युद्धमा आधारित यो फिल्म तयार हुँदैछ । भारतीय सेनाका कर्नेल सन्तोष बाबुको भूमिकामा सलमान देखिँदैछन् ।

फिल्मको पहिलो चरणको छायांकन भारत-चीन सीमासँग जोडिएको हिमाली क्षेत्र लद्दाखमा सम्पन्न भएको छ । हालै अनुपले उक्त छायांकन सकेर नेपाल फर्केका छन् । ‘अनुभव एकदमै रमाइलो रह्यो। सलमानलाई जस्तो पनि सोचेको थिएँ, थप हम्बल लाग्यो । एकदमै सपोर्टिभ र पोजिटिभ लाग्यो’, सलमानसँगको सहकार्य बारे अनुपले भने ।

सलमानले नेपाल र नेपाली कला-संस्कृतिबारे जिज्ञासा राखेको अनुपले सुनाए । फिल्मको दोस्रो चरणको छायांकन अक्टोबर-नोभेम्बरबीच मुम्बईमा तय भएको छ । ‘सलमान खान जस्तो ग्लोबल स्टारसँग स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छु’, अनुपले भने, ‘बलिउडमा यो मेरो एकल प्रतिनिधित्व होइन, सिंगो नेपाल र नेपाली फिल्म उद्योगको प्रतिनिधित्व हो । देशको नाम अन्तर्राष्ट्रियस्तरमा पुर्‍याउन पाउँदा गर्वान्वित महसुस गरेको छु ।’

फिल्मको नाम र कास्टमा सलमान जोडिएसँगै घोषणाको समयदेखि नै प्रतिक्षित बनेको यो फिल्ममा अनुपको थपिएसँग नेपाली दर्शकका लागि थप विशेष बन्ने निश्चित छ । गुपचुप रूपमा पहिलो चरणको छायांकन सकेर नेपाल फर्केका अनुपले यसबीच सामाजिक सञ्जालमा संकेत दिने केही पोस्टहरू सेयर गरेका थिए, तर फिल्मसँग जोडिएका तथ्यहरू भने सार्वजनिक गरेका थिएनन् ।

निर्देशक अपुर्व लाखियाले यो फिल्मको निर्देशन गरिरहेका छन् । ‘लगान’ फिल्ममा सहायक निर्देशक हुँदै बलिउडको निर्देशकीय यात्रा थालेका अपुर्वले त्यसयता ‘मुम्बई से आया मेरा दोस्त’, ‘सूटआउट एट लोखनवाला’, ‘हसीना पार्कर’, ‘मिसन इस्तानबुल’ लगायत दर्जनौं फिल्म निर्देशन गरिसकेका छन् ।

कमेन्ट गर्नुहोस्