‘पीआर’ को टाइटल गीत सार्वजनिक

फिल्म । निर्देशक शोभित बस्नेतको निर्देशनमा बनेको फिल्म ‘पीआर’ को टाइटल गीत ‘पीआर को चक्करले’ सार्वजनिक गरिएको छ । यही शुक्रवारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मको यो टाइटल गीत निर्माण पक्षले सार्वजनिक गरेको हो । सार्वजनिक गीतको भिडियोमा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी र आश्मा अधिकारी देखिएका छन् ।

गीतमा मानस राजको संगीत रहेको छ भने स्वर मानस राज र समिक्षा अधिकारीले दिएका छन् । कोरियोग्राफी निर्देशक शोभित बस्नेतकै रहेको छ । सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको ‘पीआर’ मा आर ए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी डागी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबु, कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् ।

त्यस्तै, विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम के.सी. र दिक्पाल कार्की देखिनेछन् । प्रेम, संघर्ष र आप्रवासनको संवेदनशील कथामा आधारित फिल्म ‘पीआर’ को प्रस्तुति रञ्जित साह र सन्तोष तिवारीले गरेका हुन् । फिल्मका निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । निर्माण पक्षका अनुसार फिल्मले विदेश जाने नेपाली युवाको सपना, चुनौती तथा त्यसका पछाडिका सामाजिक यथार्थलाई मुख्य विषय बनाएको छ ।

फिल्मको सम्पादन बन्दे प्रसादले गरेका छन् भने लेखन गणेश बुढाथोकीको रहेको छ । छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका छन्। वितरणको जिम्मा आर आर फिल्म्सले लिएको छ ।

कमेन्ट गर्नुहोस्