फिल्म । फिल्म निर्देशक मिलन चाम्सले ‘गोर्खा वारियर’ले नेपाली मौलिकतालाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताएका छन् । मोफसल यात्राको क्रममा रहेका निर्देशक चाम्सले हेटौडामा पत्रकारसँग साक्षात्कार गर्दै नेपालीहरुको गौरव गाथालाई समेटेको बताए । ‘नेपालीले हेर्नुपर्ने फिल्म हो, गोर्खा वारियर । गोर्खालीको इतिहास, बहादुरी, हाम्रा पुर्खाले भोगेको दुःख कष्ट र त्यसबेलाको नेपालको परिवेश झल्किने गरी यसको निर्माण गरिएको छ । विगतमा लाहुरे हुनुपर्ने वाध्यतालाई चलचित्रको विषय वस्तु बनाएको छ’, उनले भने ।
निर्देशक चाम्सले फिल्ममा ७० वर्ष अघिको इतिहासलाई देखाउन खोजिएको बताए । यसको छायांकन सोलुखुम्बुका पहाडी क्षेत्रमा, सगरमाथा, सिन्धुलीको दरबार क्षेत्रका साथै मलेसियामा चलचित्र छायाँकन गरिएको निर्देशक चाम्सले बताए ।
फिल्मका नायक क्याप्टेन रितेश चाम्सले यसका लागि तीन वर्ष वर्कसप गरेको बताए । आफ्नो ड्रिम प्रोजेक्टको रुपमा ‘गोर्खा वारियर’ रहेकाले सो यसका लागि बेलायतमा अभिनय कला र मार्सलआर्ट सिकेको उनले बताए । फिल्मकी नायिका रेविका गरुङले फिल्मले पुर्खाहरुले देखाएको बहादुरी र दुःख र संघर्षलाई देखाउन खोजिएको बताइन् ।
पहिलोपटक बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवर्ल्डमा प्रिमियर भएर विश्वलाई नेपाली फिल्मको स्तरीयता र महत्व दर्शाउन सफल भएको ‘गोर्खा वारियर’ को मोफसल यात्रामा निर्देशक मिलन चाम्स, अभिनेता रितेश चाम्स र अभिनेत्री रेबिका गुरुङ रहेका छन् ।
‘हामी मोफसल यात्रामा सञ्चारकर्मी, प्रदर्शक र दर्शक भेट्दै छौँ । मोफसलमा दर्शकको साथ हामीलाई प्राप्त छ, त्यसैले प्रदर्शन अगाडि पनि उहाँहरूलाई भेट्न निस्किएका हौँ । हाम्रो यात्रा धरानबाट सुरू भएको छ’, निर्देशक चाम्सले भने ।
सिनेवर्ल्डमा प्रिमियर हुनु, बेलायतका प्रधानमन्त्री ऋषी सुनकले शुभकामना संदेश पठाउनु, प्रिमियरमा व्रिटिश गोर्खाका उच्चस्तरीय सैनिक उपस्थित हुनु लगायतले यो फिल्म चर्चामा छ । गोर्खालीको वीरताको कथा भएकोले पनि विश्वका मिडियाले यसलाई प्राथमिकता दिएर खबर सम्प्रेषण गरिरहेका छन् ।
विदेशी फिल्म उद्योगमा वीरताको कथा प्रस्तुत गरिएको धेरै भएता पनि नेपालमा भने बल्ल सुरू हुँदैछ । मिलनले फिल्मलाई वास्तविक युद्धको शैलीमा निर्माण गरेका छन् । त्यहाँ देखाइको युद्ध र शैली वास्तविकतासँग नजिक रहेको उनले जानकारी दिए ।
युद्ध विधामा बनेको ‘गोर्खा वारियर’मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा देखाईएको छ । नेपाली, अङ्ग्रेजी, कोरियन र हिन्दी भाषामा प्रदर्शन गर्ने तयारी रहेको फिल्ममा रितेश चाम्स, विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, बिरूप घले, सारा राईलगायतका कलाकारले गरेका छन् ।
लन्डन सिनेआई प्रोडक्सनको प्रस्तुति र चाम्स इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको फिल्मको निर्मातामा सुमन राई र सुस्मिता वाइवा छन् । यस्तै कार्याकारी निर्मातामा प्रशान्त थापा र सह-निर्मातामा रुपमा सुरेश राई छन् । फिल्मको एसोसियट वितरकको रुपमा रीच इन्टरटेनमेन्ट जोडिएको छ ।












