फिल्म । गत विहिबारदेखि प्रदर्शनरत फिल्म अभिमन्यु : च्याप्टर १ लाई दर्शकले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । फिल्म नेपाली समाजको वास्तविकताको छायाँ–प्रतिबिम्ब बनेको भन्दै दर्शकले सकारात्मक रिभ्यू दिएका हुन् । तराई-मधेसमा प्रचलित दाइजो प्रथा र त्यसले निम्त्याउने क्रूर अवस्थालाई फिल्मले प्रभावकारी रूपमा देखाएको दर्शकको भनाइ छ । दाइजो प्रथाले सिर्जना गर्ने सामाजिक विसंगतिलाई कथानकमा बलियो रूपमा प्रस्तुत गरिएकाले फिल्म मन छुने बनेको उनीहरूको प्रतिक्रिया छ ।
दर्शकले ‘मुटुमै हान्यो’ भन्दै आफ्ना साथीभाइ र आफन्तलाई पनि अभिमन्यु हेर्न आग्रह गरेका छन् । फिल्ममा कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा मुख्य भूमिकामा छन् । किरण श्रेष्ठ, गौमाया गुरुङ, लक्ष्मी गिरी, प्रकाश दाहाल, शिशिर बाङ्देललगायत कलाकारको अभिनय रहेको छ भने रेखा थापा अतिथि भूमिकामा देखिएकी छन् ।
सुशान्त गौतम निर्देशित फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक र मुकेश खनाल लेखक हुन् । निर्माता विनोद पौडेल र गुञ्जन गिरी, सह–निर्माता रमेश चौलागाईं र हरि श्रेष्ठ हुन् । फिल्मका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् । लाइन प्रोड्युसरमा जीवन शाक्य छन् ।
शरद महतो छायांकन (डिओपी) रहेको फिल्ममा मनोज श्रेष्ठले भिएफएक्स, जुनिम गहतराजले रंग संयोजन तथा मदन घिमिरेले सम्पादन गरेका छन् ।








