फिल्म । आगामी मङ्सिर १८ गतेदेखि फिल्म ‘अभिमन्यु : च्याप्टर-१’ अन्ततः मंसिर १८ गते नेपाली र हिन्दी दुवै भाषामा नेपालभर एक साथ प्रदर्शनमा आउँदै छ । नेपालका साथै भारत र विश्वव्यापी रूपमा पनि प्रदर्शन गरिने यो फिल्म दर्शकमाझ उत्सुकताको विषय बनेको छ । केही विशेष संयोगहरूबीच रिलिज हुन लागेको ‘अभिमन्यु : च्याप्टर–१’ दर्शकले किन हेर्ने भन्ने प्रश्नलाई यसको प्रचार सामग्रीको आधारमा केलाउने प्रयास गरेका छौँ ।
दुई दशकदेखि नेपाली फिल्म क्षेत्रमा सक्रिय रहेका अभिनेता कालेश्वर चौरसियाको यो पहिलो सोलो लिड भूमिका भएको फिल्म हो । आफूलाई पूर्ण रूपमा प्रमाणित गर्न उनले यो फिल्मका लागि कडा मेहनत गरेका छन् । यसकारण पनि यो फिल्म दर्शकले हेर्न सक्नेछन् । स-साना भूमिकामा आफ्नो क्षमता प्रस्ट्याउन नसकेका कामेश्वर यसमा सक्दो मेहनतका साथ् काम गरेका छन् ।
कामेश्वर झैँ यो फिल्म अभिनेत्री लक्ष्मी बर्देवाको पनि सोलो लिड रहेको पहिलो रिलिज हुने फिल्म हो । यसअघि उनले मुख्य भूमिकामा काम गरेका चारवटा फिल्म प्रदर्शनमा आउन सकेका थिएनन् । त्यसैले लक्ष्मीको लिड रोल रहेको फिल्म पर्दामा कस्तो बनेको छ भन्ने जान्न यो फिल्म हेर्नुपर्नेछ ।
‘अभिमन्यु’ ऐतिहासिक रूपमा सफल फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माता विनोद पौडेलले बनाएको दोस्रो फिल्म हो । ‘पूर्ण बहादुरको सारङ्गी’ले नेपालमा मात्रै करिब ४७ करोड रुपैयाँ ग्रस कलेक्सन गरेर अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने फिल्मको रेकर्ड बनाएको थियो । कीर्तिमानी निर्माताको दोस्रो प्रस्तुति कस्तो छ भनेर थाहा पाउनका लागि यो फिल्म हेर्नैपर्छ ।
निर्माता पौडेलले ‘पूर्ण बहादुरको सारङ्गी’मा जस्तै यसपटक पनि कसैले सोलो लिडमा नलिएका कलाकारहरूलाई लिएर ‘रिस्क’ लिएका छन् । यसअघि दोस्रो रोजाइका कलाकारलाई लिएर ऐतिहासिक सफलता हासिल गरेका पौडेलले यसपटक पनि केही न केही सबल पक्ष नभइ यो रिस्क लिएनन् होला भन्ने अनुमान गर्न सकिन्छ । उनको यो नयाँ प्रयोग हेर्न पनि फिल्म जरुरी छ ।
फिल्ममा निर्माता पौडेलले एउटा भोजपुरी फ्लेभरको गीत समावेश गरेका छन् र मुख्य अभिनेता (कामेश्वर चौरसिया) लाई मधेशी मूलको राखेका छन् । यसले पूरै मधेशको विषयवस्तु उठाएको हो वा कथावस्तु के छ भन्ने कौतुहलता मेटाउनका लागि पनि ‘अभिमन्यु’ हेर्नुपर्नेछ ।
सेभेन सिज फिल्मस्को प्रस्तुतिमा निर्माण भएको ‘अभिमन्यु : च्याप्टर–१’ मा कामेश्वर चौरसिया, सरिता गिरी, लक्ष्मी बर्देवा, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
सुशान्त गौतमले निर्देशन गरेको फिल्मको क्रिएटिभ निर्देशक मदन थापा हुन् भने मुकेश खनालको लेखन रहेको छ । फिल्ममा विनोद पौडेल र गुञ्जन गिरी निर्माता रहेका छन् । यसमा शरद महतोको डीओपी, मनोज श्रेष्ठको भीएफएक्स, जुनिम गहतराजको रंग संयोजन र मदन घिमिरेको सम्पादन रहेको छ ।










