फिल्म । आगामी मङ्सिर २६ गतेबाट नेपालभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘पीआर’ ले जापानमा आफ्नो प्रदर्शन अधिकार बेचेको छ । जापानमा फिल्म वितरण गर्दै आएको युना डिजिटलले उक्त अधिकार खरिद गरेको हो । फिल्मका निर्देशक शोभित बस्नेतले जापानका लागि फिल्म ‘सोल्ड आउट’ भइसकेको जानकारी दिएका छन्। उनले भने, ‘हामीले जापानका लागि यो फिल्म राम्रो रकममा बिक्री गरिसकेका छौँ। अन्य देशका फिल्म वितरकहरूसँग पनि छलफल भइरहेको छ र केही दिनमै थप जानकारी दिनेछौँ।’
निर्देशक बस्नेतका अनुसार ‘पीआर’ प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ, जसका कारण विदेशमा रहेका नेपाली दर्शकमाझ फिल्मप्रति चासो उच्च देखिएको छ । उनका भनाइमा, ‘फिल्ममा विदेशमा रहेका छोराछोरीको जीवन र नेपालमा रहेका अभिभावकले उनीहरूबाट गरेको अपेक्षालाई कथाको केन्द्र बनाइएको छ ।’
हालै सार्वजनिक भएको फिल्मको गीत ‘टाटा बाइ बाइ’ ले पनि सामाजिक सञ्जालमा राम्रो लोकप्रियता पाइरहेको छ । यो गीत युट्युबमा रिलिज भएको केही दिनमै ट्रेन्डिङमा पुगेको छ भने टिकटकमा समेत यसको शब्द र धुनमा बनेका छोटा भिडिओहरू व्यापक बनेका छन् ।
फिल्ममा नीर शाह, गौरी मल्ल, आर.ए. सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, मस्तानी, बिमला खत्री, गणेश बुढाथोकी, म्याक्स बाबू , कृष्ण थापा, र नवीन घायल लगायतका कलाकारको अभिनय रहेको छ। विशेष भूमिकामा रविन्द्र खड्का, उत्तम के.सी., र दिक्पाल कार्की देखिने छन् ।
यस फिल्मका प्रस्तुतकर्ताहरू रञ्जित साह र सन्तोष तिवारी हुन् भने निर्माता लक्ष्मण सापकोटा र प्रदीप दाहाल हुन् । गणेश बुढाथोकीले लेखन तथा बन्दे प्रसादले सम्पादन गरेका यो फिल्मको छायांकन सौरभ सायमी र सौरभ लामाले गरेका हुन्। यसको वितरणको जिम्मा आर.आर. फिल्म्सले लिएको छ ।











