च्याब्रुङ बजाउन निकै मेहनत गरें : दयाहाङ

फिल्म । अभिनेता दयाहाङ राईले फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ ले लिम्बु समुदायको मनोविज्ञानसँगै संस्कृति र पारिवारिक सम्बन्धको विषयलाई उठान गरेको बताएका छन् । फिल्मले श्रीमान्–श्रीमतीबीचको सम्बन्धलाई लिम्बु समुदायको सांस्कृतिक दृष्टिकोणबाट चित्रण गर्ने उनको बुझाइ छ । ‘जारी’ को कथासँग निरन्तरता राख्दै पात्रहरूको सोच र मनोविज्ञानमा आएको परिवर्तनलाई ‘जारी २ : सङ अफ च्याब्रुङ’ मा देख्न पाउने दयाले बताए ।

‘पहिलेको पात्र अहिले कसरी सोच्छ भन्ने कुरा यस फिल्ममा देख्न सकिन्छ । सातवर्ष समय वित्दा आएको सामाजिक परिवर्तनले पनि धेरै तथ्य भनेको छ’, दयाले भने । लिम्बु समुदायको परिवेशमा बनेको फिल्म भए पनि भाषिक रूपमा धेरै प्रयोग नभएको तर लवज समात्ने प्रयास गरिएको उनले बताए ।

उनका अनुसार, गैरलिम्बुले सुन्दा लवज मिलेजस्तो लागे पनि लिम्बु दर्शकका लागि त्यो पूर्णरूपमा सटिक नलाग्न सक्छ । उनले ट्रेलरमा देखिएको आफ्ना संवादका लागि विशेष मेहनत नगरेको बताउँदै भने, ‘तर च्याब्रुङ बजाउन भने निकै मेहनत गरेँ ।’

उनका अनुसार, फिल्मको छायांकन सकिँदासम्म उनी च्याब्रुङ राम्रोसँग बजाउन सक्ने भएका थिए । दयाहाङले गाउँमा ढोल बनाउने चलनबारे पहिले नै थाहा रहे पनि च्याब्रुङको धुनसँग भने काठमाडौं आएपछि मात्र परिचित भएको बताए । फिल्मलाई उपेन्द्र सुब्बाले लेखन र निर्देशन गरेका हुन्।

रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ निर्माताको रूपमा रहेका फिल्ममा दयाहाङ राई, मिरुना मगर र विजय बराल प्रमुख भूमिकामा छन् । बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा बनेको ‘जारी २’ यस वर्ष व्यापारिक रूपमा सफल हुने अपेक्षा गरिएको फिल्मको सूचिमा राखिएको छ । फिल्ममा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखु लगायतका कलाकारको अभिनय रहेको छ ।

कमेन्ट गर्नुहोस्