फिल्म । अभिनेत्री वर्षा राउतले आफ्नो हातमा देखिएका पुराना दागहरूलाई लिएर मिडियाले भ्रामक हेडलाइन बनाएको भन्दै दुःख व्यक्त गरेकी छन् । आगामी फिल्म ‘हर्ष’को ट्रेलर सार्वजनिक कार्यक्रममा उनको हातका दागबारे प्रश्न उठेपछि सामाजिक सञ्जालमार्फत उनले स्पष्टिकरण दिएको हुन् । बुधबार बेलुका फेसबुक स्टाटसमा लेख्दै राउतले हातका दागहरू १०\१५ वर्ष पुराना भएको उल्लेख गरेकी छन् । उनको फेसबुक प्रोफाइलमा अझै ती पुराना तस्वीरहरू उपलब्ध रहेको र दागहरू स्पष्ट देखिने भन्दै उनले मिडियाको टिप्पणी भ्रामक भएको बताइन् ।
उनले लेखेकी छन्, ‘आज बनेका धेरै हेडलाइनहरूले मेरो हातमा लागेको दागलाई उठाएर पूर्ण रूपमा भ्रामक तरिकाले प्रस्तुत गरेका छन् । मेरा १०–१५ वर्षअघिका तस्वीरहरू अझै पनि मेरो प्रोफाइलमै छन्, त्यहाँ त्यही बेलाका दागहरू स्पष्ट देख्न सकिन्छ ।’
उनले आफ्नो व्यक्तिगत जीवनबारे अनुमान नगर्न मिडिया र दर्शकलाई आग्रह गरेकी छन् । फिल्म ‘हर्ष’को ट्रेलर रिलिज कार्यक्रममा फिल्मभन्दा व्यक्तिगत जीवनका प्रश्नहरू बढी सोधिएको भन्दै उनी दुःखित देखिएकी छन् । ‘कार्यक्रम त चलचित्र हर्षको थियो, तर न चलचित्रले हेडलाइन पायो, न कतै त्यसको उल्लेख भयो । व्यक्तिगत र भ्रामक हेडलाइनहरू मात्र बन्न पुगे,’ उनले थपिन् ।
मिडियामा आफूलाई नकारात्मक रूपमा चित्रण गर्ने प्रवृत्तिप्रति असन्तुष्टि व्यक्त गर्दै राउतले लेखेकी छन्, ‘मैले एउटा कुरा भनेकी थिएँ । मलाई कहिलेकाहीँ मिडियामा बोल्न डर लाग्छ । त्यो डर अहंकार होइन, न त दूरी बनाउने इच्छा हो । त्यो डर त त्यसैले हो किनभने जतिसुकै सरल मनले बोलेको कुरा पनि कहिलेकाहीँ गलत अर्थमा लिएर व्यक्तिगत जीवनमा जोडिन्छ । त्यसैले म बोल्नुअघि सयपटक सोच्न थालेकी छु ।’
फिल्मको कार्यक्रममा व्यक्तिगत प्रश्नहरूको जवाफ नदिने निर्णय गरेको बताउँदै उनले भनिन्, ‘किनभने कहिलेकाहीँ मौन रहनु नै सबैभन्दा राम्रो उत्तर हुन्छ भन्ने लाग्छ । तर आज आएर मिडियामा मेरो नबोलेका कुराहरूलाई फरक अर्थमा प्रस्तुत गरिएको देख्दा मन दुख्यो ।’
कलाकारको पहिचान उसको काम, मिहेनत र सिर्जनाशीलतामा आधारित हुनुपर्नेमा जोड दिँदै राउतले व्यक्तिगत जीवनका अनुमानहरूबाट टाढा रहन आग्रह गरिन् । केही महिनायता उनको वैवाहिक जीवनबारे मिडियामा चर्चा चलेको थियो । यो स्टाटसमार्फत उनले कलाकारितामा केन्द्रित हुन चाहेको संकेत गरेकी छन् ।









