फिल्म । पारिवारिक कथामा तयार भएको नेपाली फिल्म ‘परान’ले बलियो ‘वर्ड अफ माउथ’ पाउँदा सफलताको बाटोमा अगाडि बढेको छ । गत कत्तिक १४ गते प्रदर्शन हुँदा पाएको ६४ शोमा ठीकठाक अकुपेन्सीसँगै प्रदर्शनरत फिल्मको शो बढिरहेको छ । फिल्मले प्राप्त गरेको विहिबारको शोमा अधिकाँस भरिने क्रममा रहेको छ ।
पहिलो दुई दिन उत्साहजनक व्यापार गर्न नसकेको ‘परान’ले रिलिजको सातौँ दिन आइपुग्दा हाल नेपालका अधिकासं हलहरूमा प्रदर्शनरत नेपाली तथा विदेशी फिल्महरूलाई पछाडि पार्दै सर्वाधिक शो पाउन सफल भएको छ ।
खल्ती एपमा यो समाचार तयार पार्दासम्म फिल्मले देशभर १ सय ३२ भन्दा बढी शो पाएको छ । ‘परान’लाई उत्साहजनक शो उपलब्ध गराएका प्रदर्शक दर्शकको आगमनसँगै खुसी छन् ।
फिल्म हेर्नेहरूले उत्कृष्ट फिल्म हेरेर आफूहरू भावुक भएको प्रतिक्रिया दिइरहेका छन् । दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वको कम्पनी बाइस्कोप सिनेमाले निर्माण गरेको हो । फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी र बुद्धि तामाङ आदिको प्रमुख भूमिका छ ।









