फिल्म । कलाकार सन्तोष पन्तले फिल्म चलाउन फण्डा गर्न सक्नु पर्ने बताएका छन् । आफू अभिनित फिल्म ‘हर्ष’ को ट्रेलर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले डेब्यु निर्देशक एकता पौडेललाई फिल्म राम्रो बनाउनुसँगै चलाउन सक्नु पर्ने बताए ।
‘फिल्म बनाउन सजिलो होला तर चलाउन निकै कठिन छ । फिल्म चलाउन केहि नकेहि फण्डा गर्न सक्नु पर्छ । मैले त्यस्तो केही गर्न नसक्दा फिल्म चलाउन सकिन वा धेरै दर्शकसम्म फिल्म बारे जानकारी पुगेन् । त्यसैले फिल्म चलाउनु छ भने केही चर्चामा आउने काम गर्नुस्’, उनले भने ।
उनले दिएको सुझावमा पछिल्लो समय प्रदर्शन भएका फिल्म कन्टेन्ट भन्दा पनि फण्डाका कारण चलेको भन्ने लक्षित थियो । उनले आफ्नो फिल्म ‘हिजो आजका कुरा’ को गीत हिट भएपनि फिल्मले अपेक्षित व्यापार गर्न नसक्नुमा फण्डा गर्न नजानेको बताए । तर, आफ्नो फिल्मको कन्टेन्ट कम्जोर भएको स्वीकार्न तयार भएनन् ।
‘गीतको भ्यूज हेर्नुस् त, हिट छ । मैले भेटेका सबै दर्शकले फिल्म राम्रो भनेका छन् । फिल्म नराम्रो होइन, मैले चलाउन जानिन्’, सन्तोष आफ्नै कुरामा अडीग रहे ।
उक्त फिल्ममा उनले बुवाको भूमिका निर्वाह गरेका छन् । आफ्नो परिवार अगाडि बढाउने सदस्य नभएपछि परिवारमा देखिने उतारचढाव फिल्मको विषय हो । आगामी मंसिर १२ गतेबाट प्रदर्शनमा आउने फिल्ममा खगेन्द्र लामिछाने वर्षा राउत, नीर शाह, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन र सिर्जना नापितको अभिनय छ ।
आलोक शुक्लाको छायांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी छ । अष्टलक्ष्मी प्रोडक्सन्स र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता छन् । फिल्मका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे र मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।









