फिल्म । गएको भाइटिकालाई लक्षित गर्दै कात्तिक ६ गते रिलिज भएको नेपाली फिल्म ‘वरिष्ठ बलराम’ को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक गरिएको छ । फिल्मको यो स्याड भर्सनको गीत निर्माण पक्षले आज सार्वजनिक गरेको हो । हलमा दर्शकको राम्रो साथ पाइरहेका बेला सार्वजनिक भएको यो गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर छ । शब्द तथा संगीत प्रशान्त शिवाकोटीको हो ।
वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा समेटिएको छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको पीडा र छटपटीलाई मर्मस्पर्शी शब्दमा चित्रण गरिएको छ। गीतले दर्शकको मन छुने अपेक्षा गरिएको छ। भिडियोमा मुख्य कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ । यसका साथै फिल्मले प्रदर्शन भएको पाँच दिनमा दुई करोड रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको निर्माण पक्षले दावी गरेका छन् ।
फिल्मले भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई चित्रण गरेको कथावस्तु दर्शकले मन पराएको निर्माता आशिष एच. तामाङले पुष्टि गरेका छन् ।सुरेन्द्र पौडेलको निर्देशनमा बनेको यो फिल्म वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा निर्माण भएको हो । फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतका कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन छ भने पटकथा महेश दवाडीले लेखेका हुन् । निर्मातामा आशिष एच. तामाङ र श्रीराज कार्की छन् भने कार्यकारी निर्मातामा प्रदीप जी. धामी र पुष्कर बी. घिमिरे । लाइन प्रोड्युसर राम विष्ट हुन् । मनकृष्ण महर्जनको छायांकन, प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको फिल्मलाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको छ ।










