‘भाइरल गोर्खे’को रोमान्टिक गीतमा सौगात र सृष्टी

फिल्म । सौगात मल्ल र सृष्टि श्रेष्ठ अभिनीत फिल्म ‘भाइरल गोर्खे’को आकर्षक गीत ‘बतासले उडाइ लाग्यो’ सार्वजनिक भएको छ । निर्माण पक्षले आज यो गीत दर्शकमाझ ल्याएको हो । गीतमा त्रिशला गुरुङ र दीपक लिम्बुको स्वर छ भने संगीत रोहित शाक्यको रहेको छ । शब्द कुशुम गजमेरको छ र कोरियोग्राफी श्याम पट्टेलले गरेका छन् । यो गीत लोकप्रिय फिल्म ‘चिनो’को रिमेक हो, जसको मूल संस्करणमा कुमार कान्छा र आशा भोस्लेको स्वर तथा रञ्जित गजमेरको संगीत छ ।

गीतको भिडियोमा फिल्मका मुख्य कलाकार सौगात मल्ल र सृष्टि श्रेष्ठ फिचर्ड छन् । प्रेममा रमाइरहेको जोडीको चञ्चलता र समर्पणलाई सुन्दर दृश्यको पृष्ठभूमिमा प्रस्तुत गरिएको छ । भिडियोले दर्शकलाई रोमान्टिक माहोलमा डुबाउँछ । दुई दिनअघि नै फिल्मको नयाँ पोस्टर सार्वजनिक भएको थियो । ‘भाइरल गोर्खे’ आगामी माघ १ गते प्रदर्शनमा आउनेछ ।

टिकटक, फेसबुक र युट्युबजस्ता सामाजिक सञ्जालमा भाइरल हुने ट्रेन्डलाई मुख्य कथावस्तु बनाएर निर्माण गरिएको यो फिल्मले समसामयिक र जल्दोबल्दो विषय उठान गरेको छ । निर्देशक निगम श्रेष्ठले यो ट्रेन्डलाई रोगकै रूपमा चित्रण गर्दै घरघरको कथा प्रस्तुत गरिएको बताए ।

‘कमेडी र ह्युमरको मिश्रणले यो फिल्म दर्शकका लागि पूर्ण मनोरञ्जन प्याकेज बनेको छ । दर्शकले मन पराउनेमा ढुक्क छु’, उनले भने । एके ब्रदर कम्पनी, द जिएमआई एकेडेमी र निर्भाना फिल्म स्कूलको ब्यानरमा बनेको फिल्ममा सौगात र सृष्टिसँगै बुद्धि तामाङ, लक्ष्मी गिरी, राजाराम पौडेल र ऋषि धमलाको अभिनय छ ।

निर्माता अमित श्रेष्ठ, विशाल ताम्राकार, महेश लामिछाने र केवल जंग कुँवर छन् भने सह–निर्माता शुभेच्छा पौडेल, भुवन अधिकारी र निखिल पौडेल हुन् । कार्यकारी निर्माता निर्भाना फिल्म स्कूल र केदार श्रेष्ठ रहनुभएको छ । अमर महर्जनको छायांकन रहेको यो फिल्म लमजुङको भुजुङ गाउँ, गोरखा र चितवनमा खिचिएको छ । वितरण सुनिल मानन्धरले गरेका छन् भने द्वन्द्व निर्देशन श्री श्रेष्ठ, सम्पादन बन्देप्रसाद, रवि चौधरी र भीम विश्वकर्माले गरेका छन् ।

कमेन्ट गर्नुहोस्