फिल्म । आगामी कात्तिक १४ गते रिलिज हुने पारिवारिक फिल्म ‘परान’मा वरिष्ठ कलाकार नीर शाहको शीर्ष भूमिका छ । यो फिल्मले छोराको सामुन्ने सधैं रहिरहोस् भन्ने एक बाबुको भावनात्मक कथालाई प्रस्तुत गर्छ । नेपाली फिल्म उद्योगकी व्यस्त अभिनेत्री अञ्जना बराइलीले यो फिल्ममा सिनको संख्याभन्दा पनि कथावस्तुले आफूलाई आकर्षित गरेको बताएकी छन् । उनले यो फिल्म आफूले खोजीखोजी हेर्ने सूचीमा रहेको उल्लेख गरिन् ।
‘यो फिल्ममा जोडिनुको मुख्य कारण यसको विषयवस्तु हो । यो मेरो लागि खोजीखोजी हेर्ने खालको फिल्म हो । जति काम भएको छ, त्यो उत्कृष्ट छ । म यो फिल्म हलमा हेर्न निकै उत्साहित छु । डबिङको समयमा नै मैले यो फिल्म दसैँमा रिलिज गर्नुपर्छ भनेकी थिएँ, जुन म प्रायः भन्दिनँ’, उनले भनिन् ।
उनले दसैँ जस्ता पारिवारिक चाडमा यस्ता फिल्म उपयुक्त हुने बताउँदै निर्माण टिमलाई दशैंमै रिलिज गर्न सुझाएकी थिइन् । यो फिल्म सबै उमेर समूहका दर्शकका लागि रुचिकर हुने उनको दाबी छ । ‘फिल्मले सबै उमेरका कथालाई समेटेको छ। नीर शाहको शीर्ष भूमिकापछि दर्शकले मेरो पात्रलाई सम्झनेछन्’, उनले भनिन् ।
फिल्ममा उनले निर्वाह गरेको ‘रूपा’ पात्र सम्झनलायक हुने विश्वास व्यक्त गरिन् । रिलिज मिति नजिकिँदै गर्दा अञ्जना दर्शकको मन जित्नेमा ढुक्क छिन् । डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेको यो फिल्मको कथा उनकै हो, भने पटकथा र संवाद यम थापाले लेखेका छन् । गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित ‘बाइस्कोप सिनेमा प्रा.लि.’ ले निर्माण गरेको यो फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइलीसँगै मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बालकलाकार आर्यादीप आचार्यलगायतको अभिनय छ ।










