फिल्म । भारतीय अभिनेता ऋतिक रोशन चाँडै नै ओटीटी प्लेटफर्ममा पनि डेब्यू गर्दैछन् । तर, यसपटक उनी अभिनेताको नभई निर्माताको भूमिकामा देखिँदैछन् । प्राइम भिडियोले नयाँ मौलिक थ्रिलर ड्रामा श्रृंखला ‘स्टर्म’ (अस्थायी शीर्षक) को घोषणा गरेको छ, जसमा ऋतिक र उनको कम्पनी एचआरएक्स फिल्म्स (फिल्मक्राफ्ट प्रोडक्सनको भाग) ले सहकार्य गरेको छ ।
यो श्रृंखलाको शीर्षक अझै अन्तिम रूप पाएको छैन, तर अस्थायी रूपमा ‘स्टर्म’ नाम दिइएको छ । यसलाई चर्चित निर्देशक अजितपाल सिंहले क्रिएट तथा निर्देशन गरेका हुन् । कथा अजितपाल सिंह, फ्रान्कोइस लुनेल र स्वाती दासले लेखेका छन् भने ऋतिक र उनका भाइ इशान रोशनले निर्माणको जिम्मेवारी सम्हालेका छन् ।
‘स्टर्म’ मा पार्वती तिरुवोथु, अलाया एफ, सृष्टि श्रीवास्तव, रमा शर्मा र सबा आजादजस्ता प्रभावशाली महिला कलाकारहरूको अभिनय रहने छ । यो मुम्बईको पृष्ठभूमिमा आधारित रोमाञ्चक थ्रिलर ड्रामा हो, जसले रहस्य, महत्वाकांक्षा र बाँच्ने संघर्षलाई चित्रण गर्दछ । निर्देशक अजितपाल सिंह यसअघि ‘ट्याबर’ श्रृंखलाले आठ फिल्मफेयर ओटीटी अवार्ड जितेका थिए भने उनको डेब्यु फिल्म ‘फायर इन द माउन्टेन्स’ ले २०२१ को सन्डान्स फिल्म फेस्टिभलमा विश्व प्रिमियर गरेको थियो।









