फिल्म । ऋषभ शेट्टीको फिल्म ‘कन्तारा: च्याप्टर १’ भारतमा राम्रो व्यापार गरिरहेको छ । विशेषत हिन्दी र कन्नड भाषामा यसको व्यापार आक्रामक रहेको छ । राम्रो समीक्षा पाएको फिल्मले नेपालमा पनि दर्शकको मन जितिरहेको छ । फिल्मले आगामी दिपावलीसम्म दर्शकको साथ् पाउने अपेक्षा गरिएको छ । चलचित्र विकास बोर्डको ‘बक्सअफिस @ सिनेमा’ एपका अनुसार, फिल्मले असोज २३ गते राति ११:५९ बजेसम्म ६ करोड ३० लाख रुपैयाँको ग्रस कलेक्सन गरेको छ । फिल्मले प्राप्त गरिरहेको शो र त्यसमा दर्शकको उपस्थिति हेर्दा यसले १० करोड सहजै कटाउने अनुमान प्रदर्शकको छ ।
कन्नड भाषाको महाकाव्यात्मक काल्पनिक एक्सन ड्रामा फिल्मलाई ऋषभ शेट्टीले नै लेखन, निर्देशन गरेका छन् । फिल्ममा निर्देशक शेट्टीसँगै रुक्मिणी वासन्त, जयराम र गुलशन देवैया मुख्य भूमिकामा छन् । यो २०२२ को मूल ‘कन्तारा’ को प्रीक्वेल हो, जसले कर्नाटकको तुलु क्षेत्रको भूत कोला परम्परा र कन्तारा जङ्गलको इतिहासलाई चित्रण गर्दछ ।
व्यापार विश्लेषकहरूका अनुसार यसको विश्वव्यापी कुल कमाइ ७०० देखि ८०० करोडसम्म पुग्न सक्ने अनुमान छ । यो २०२५ को सबैभन्दा सफल कन्नड फिल्म बनिसकेको छ ।









