फिल्म । कात्तिक ७ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘मैझारो’को प्रचारप्रसार तीव्र गतिमा अघि बढेको छ । निर्माण टिमले फिल्मको प्रचारलाई व्यापक बनाउन पूर्वका विभिन्न शहरमा सांगीतिक कार्यक्रम आयोजना गरेको छ । अहिले पूर्वका अधिकांश इ-रिक्सा र अटो ‘मैझारो’मय बनेका छन्, जहाँ जताततै फिल्मका फ्लेक्स र पोस्टर झुण्ड्याइएका छन् ।
फिल्मका निर्देशक, निर्माता तथा गायक र कलाकार विल्सन विक्रम राई आफ्नो डेब्यु निर्देशनलाई दर्शकमाझ पुर्याउन कस्सिएर लागेका छन् । उनले सांगीतिक प्रस्तुतिमार्फत दर्शकलाई मनोरञ्जन दिँदै फिल्मको जानकारी फैलाइरहेका छन् । उनको टिममा गायक राजेश पायल राई, संगीतकार तथा गायक अनमोल गुरुङ र फिल्मका मुख्य कलाकारहरूको बेजोड प्रस्तुति समावेश छ ।
हिजो बिहीबार धरानमा आयोजित कन्सर्टमा हजारौं दर्शकको उपस्थिति रहेको थियो । आज निर्देशक राईको गृहजिल्ला झापाको बिर्तामोडस्थित मुक्ती चोकमा सांगीतिक कार्यक्रम हुँदैछ । निर्माण पक्षले झापाको बिर्तामोड र दमक, मोरङको बेलबारी, सुनसरीको इटहरी र धरानमा यस्ता कार्यक्रम आयोजना गरेको छ ।
‘तक्मे प्रोडक्सन’को ब्यानरमा बनेको यो फिल्ममा राईकै लेखन र लगानी छ । मौलिक प्रेमकथामा आधारित फिल्ममा धिरज मगर, मिरुना मगर, दिया पुन, बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माउत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ । सौरभ लामाले छायांकन गरेको यो फिल्म आरआर फिल्मस्ले वितरण गर्दैछ भने डिजिटल अधिकार ओएसआरले लिएको छ ।









