आगामी दसैँमा भिड्दैछन् दीपक र समीर ?

फिल्म । दसैँ, तिहार र नयाँ वर्षको डेट अहिले नेपाली निर्माताको प्यारो बनिरहेको छ । उल्लेखित डेटमा फिल्म ठीकठाक भएपनि दर्शकको भिडभाड हलमा हुने विश्वास निर्मातामा छ । फिल्म राम्रो भए त गर्ने व्यापार छदै छ । सोही कारण पछिल्लो समय निर्माताले यी डेटलाई छाड्न तयार छैनन् । यसक्रममा दसैँ अहिले ठूलो डेट बनिरहेको छ ।

कुनै समय दसैँमा दर्शक व्यस्त हुने भएकाले फिल्म हेर्ने सङ्ख्या कम हुन्छ भन्ने मान्यता थियो । तर, केहि वर्ष यता दसैँ निर्माताको पहिलो आँखा लाग्ने डेट बनेको छ । यसै क्रममा आगामी वर्ष अर्थात् विसं २०८३ को दसैँमा पुनः भिडन्त पक्का झैँ भएको छ । अभिनेता दीपकराज गिरीले फिल्म ल्याउने घोषणा गरेको केही दिनमै अभिनेता समीर भट्टले पनि आफ्नो फिल्म उक्त मितिमा आउने घोषणा गरेका छन् ।

फिल्म प्रचारप्रसारका लागि दर्शकसँग भेटघाट गरिरहेका समीरले मिडियामा प्रतिक्रिया दिने क्रममा आगामी दसैँ आफू अभिनित फिल्म आउने घोषणा गरे । उनले भने, ‘आगामी दसैँमा मेरो फिल्म आउँछ । कुन आउँछ भन्ने अहिले भन्ने अवस्था छैन, यद्यपि फिल्म आउँछ ।’

उनको यो भनाइले आगामी दसैँमा ‘छक्का पञ्जा’ को नयाँ सिरिज र ‘१२ गाउँ’ को सिक्वेलको भिडन्त हुने सङ्केत गरेको छ । यद्यपि अहिले दसैँमा समय रहेकाले यकिनन् भन्ने अवस्था भने छैन ।

कमेन्ट गर्नुहोस्