फिल्म । नयाँ फिल्म ‘ककाकिकी’ को छायांकन औपचारिक रूपमा सुरु भएको छ । निर्माण टिमले आज (बिहीबार) बिहान शुभमुहूर्त गर्दै पर्वतको भूकदेउराली बाट फिल्मको छायांकन थालेको हो । कुल ३५ दिने छायांकन तालिका तय गरिएको छ । पहिलो चरणमा आगामी २० दिनसम्म पर्वतमा गाउँको परिवेश झल्कने दृश्यहरूको छायांकन गरिनेछ । त्यसपछि बाँकी छायांकन काठमाडौँ मा गरिने फिल्मका निर्देशक बिक्की अग्रवालले जानकारी दिएका छन् ।
छायांकन सुरु भएसँगै फिल्मका प्राय: सबैजसो कलाकारहरू छायांकनस्थलमा पुगिसकेका छन् । अभिनेत्रीहरू तृप्ती नाडकर, रेखा थापा, दिया मास्के र अभिनेताहरू सुभास गजुरेल, महेश त्रिपाठी, सुवर्ण थापा लगायतका कलाकारहरू अहिले सेटमा छन् । यस्तै, अर्की अभिनेत्री गौरी मल्ल केही दिनमा छायांकन टिममा जोडिने फिल्मकी अर्की निर्देशक श्रृद्धा प्रसाईंले जानकारी दिइन् । निर्देशक प्रसाईंका अनुसार आजैबाट मुख्य छायांकन सुरु भएको छ र केही अन्य कलाकारहरू आवश्यकता अनुसार बिचमा थपिँदै जानेछन् ।
फिल्म ‘ककाकिकी’ चर्चित हास्य कार्यक्रम ‘कमेडी दरबार’ को टिमले निर्माण गर्न लागेको हो । ‘कमेडी दरबार’ कै निर्देशकद्वय बिक्की अग्रवाल र श्रृद्धा प्रसाईंले संयुक्त रूपमा फिल्मको निर्देशन सम्हाल्नेछन् ।
फिल्मको कथा बिक्कीसँगै बिकाश अर्याल र सरोज भण्डारीले लेखेका हुन् । यसैगरी, स्क्रिनप्ले (पटकथा) पनि बिक्कीकै रहेको छ भने बिश्वास तिम्सिना स्क्रिप्ट डाक्टरको रूपमा टिममा छन् । फिल्ममा अनिश बुढाथोकी सहायक निर्देशकको रूपमा रहेका छन् भने सुदिप बराल ले डिओपी (छायाकार) को जिम्मेवारी लिएका छन् ।
फिल्मको डिजिटल सर्वाधिकार ओएसआर डिजिटलसँग सुरक्षित रहेको छ भने अन्तर्राष्ट्रिय सर्वाधिकार सेभेन सिज् इन्टरनेशनलसँग रहेको छ ।











