फिल्म । दक्षिण भारतीय अभिनेता ऋषभ शेट्टीको फिल्म ‘कान्तारा : च्याप्टर १’ले भारतीय बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेको छ । गत अक्टोबर २ (१६ असोज) मा रिलिज भएको यो कन्नड फिल्मले कमाइसँगै दर्शकमार्फत सकारात्मक प्रतिक्रिया पाएको छ ।
फिल्मले तीन दिनमा भारतमा मात्र १ सय ६२.८५ करोड नेट कमाइ गरेको छ भने विश्वव्यापी रूपमा २ सय २५ करोडभन्दा बढीको व्यापार गरेको बताइएको छ । चौथो दिन (अक्टोबर ५, १९ असोज) सम्म पनि राम्रो कमाइ जारी रहेको भारतीय मिडियाले जनाएका छन् । यसले केही ठूला फिल्मका रेकर्ड तोडेको दाबी गरिएको छ । यो वर्षको सबैभन्दा बढी कमाउने कन्नड फिल्म बनेको यसले धेरै कमाउने कन्नड फिल्मको सूचीमा चौथो स्थानमा स्थान बनाएको छ ।
फिल्मले पहिलो दिन ६१.८५ करोड, दोस्रो दिन ४६ करोड र तेस्रो दिन ५५ करोडको व्यापार गरेको थियो । यो कन्नड फिल्म हिन्दी, तमिल, तेलुगु, मलायालम र बंगाली भाषामा पनि डब गरिएको छ । सन् २०२२ को ‘कान्तारा’ को सिक्वेल (प्रीक्वेल) भएको यो फिल्ममा ऋषभ शेट्टीले निर्वाह गरेको दमदार अभिनयको चर्चा भइरहेको छ ।








