फिल्म । बहुप्रतीक्षित हलिउड एड्भेन्चर फिल्म ‘जुरासिक वर्ल्ड रिबर्थ’ आज शुक्रबारबाट विश्वभर प्रदर्शनमा आएको छ । यो फिल्म ‘जुरासिक पार्क’ फ्रेन्चाइजको सातौँ र ‘जुरासिक वर्ल्ड’ श्रृंखलाको चौथो भाग हो । फिल्ममा स्कारलेट जोहानसन र जोनाथन बेलीको मुख्य भूमिका रहेको छ ।
डायनासोरको संसारमा दर्शकहरूलाई फेरि एकपटक पुर्याउने उद्देश्यले निर्माण गरिएको यो फिल्मले रिलिज हुनेबित्तिकै दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउन सुरु गरेको छ । फिल्म हेरेका दर्शकहरूले सामाजिक सञ्जालमा निकै उत्साहजनक प्रतिक्रिया दिएका छन् । धेरैले फिल्मको कथालाई रमाइलो र प्रभावशाली भनेका छन् भने कतिपयले यसले पुराना भागहरूको याद दिलाएको उल्लेख गरेका छन् । फिल्मको भिजुअल इफेक्ट्सको पनि निकै प्रशंसा भइरहेको छ । समग्रमा, फिल्म सबै पक्षबाट उत्कृष्ट रहेको प्रतिक्रियाहरू आइरहेका छन् ।
‘जुरासिक वर्ल्ड रिबर्थ’ मा स्कारलेट जोहानसनसँगै महेरशला अली, जोनाथन बेली, रूपर्ट फ्रेन्ड, म्यानुअल गार्सिया-रुल्फो, एड स्क्रेन र लूना ब्लेजले अभिनय गरेका छन् । ग्यारेथ एडवर्ड्सले निर्देशन गरेको यो फिल्मको कथा विड कोएपले लेखेका हुन् । यो फिल्म ‘द कैनेडी/मार्शल कम्पनी’ र ‘एम्बलिन एंटरटेनमेन्ट’ को ब्यानरमा निर्माण भएको हो भने ‘युनिभर्सल पिक्चर्स’ ले यसको वितरण गरेको छ ।