रश्मिका र विजयले गरे इन्गेजमेन्ट

फिल्म । वर्षौंदेखि डेटिङको अपुष्ट चर्चामा रहेका दक्षिण भारतीय स्टारहरू रश्मिका मन्दाना र विजय देवरकोन्डाबीच इन्गेजमेन्ट भएको पुष्टि भएको छ । शुक्रबार सामाजिक सञ्जालमा यो जोडीको इन्गेजमेन्टको हल्ला फैलिएपछि विजयका निकट स्रोतले भारतीय मिडिया हिन्दुस्तान टाइम्सलाई उनको इन्गेजमेन्टको खबर पुष्टि गरेका हुन् ।

इन्गेजमेन्टबारे विस्तृत जानकारी बाहिर आएको छैन । यद्यपि, सन् २०२६ को फेब्रुअरी महिनामा विवाह हुने निश्चितजस्तै छ । इन्गेजमेन्टको निजी समारोह हैदराबादमा भएको र परिवार तथा नजिकका साथीहरूको उपस्थिति रहेको स्रोतहरूले जनाएका छन् । इन्गेजमेन्टबारे रश्मिका र विजय दुवैजनाले औपचारिक जानकारी भने दिएका छैनन् ।

उनीहरूले पहिलो पटक सन् २०१८ को हिट फिल्म ‘गीता गोविन्दम’ र सन् २०१९ को फिल्म ‘डियर कमरेड’मा सँगै काम गरेदेखि नै एकअर्कालाई डेट गरिरहेको हल्ला चलिरहेको थियो । विजय र रश्मिकालाई प्रायः सँगै समय बिताएको देखिएको छ । गएको अगस्टमा उनीहरूले न्यूयोर्कमा ४३ औं इन्डिया डे परेडको नेतृत्व गरेका थिए भने ‘भारत बियोन्ड बोर्डर्स’ शीर्षकको कार्यक्रममा पनि भाग लिएका थिए ।

प्रशंसकहरूले यी दुई कलाकारले एउटै स्थानबाट छुट्टीका तस्वीर सेयर गरेको स्मरण गर्दै उनीहरूको सम्बन्धको हल्लालाई बल पुर्‍याएका थिए, तर यसलाई सार्वजनिक भने गरेका थिएनन् ।

कमेन्ट गर्नुहोस्